तनहुँ ‘टी २० क्रिकेट प्रतियोगिता २०८२’ मंगलबारबाट

तनहुँ जिल्ला क्रिकेट सङ्घको आयोजनामा पहिलो पटक तनहुँ ‘टी–२० ’ क्रिकेट प्रतियोगिता २०८२ हुने भएको छ । प्रतियोगिता मंगलबार सुरु हुने छ । ७ दिने प्रतियोगिता पाटन खेल मैदान, व्यास–५, तनहुँमा आयोजना हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगिताको मुख्य प्रायोजक क्यास्पियन भ्याली सेकेन्डरी स्कुल ललितपुर हो ।
यस वर्षको प्रतियोगितामा ९ टिमको सहभागिता रहनेछ । सहभागी टोलीलाई ३ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष स्थान हासिल गर्ने टिम र बाँकी टिमहरू मध्ये उत्कृष्ट रन रेट हासिल गर्ने एक सहित गरी कुल ४ टिम सेमिफाइनल चरणमा प्रवेश गर्नेछन् ।
सहभागी टोलीमा इस्टर्न क्रिकेट एकेडेमी, बैरेनी क्रिकेट क्लब, दमौली क्रिकेट क्लब, प्रगतिशील क्रिकेट क्लब र महालक्ष्मी क्रिकेट एकेडेमी छन् । यसै गरी,हिमालय स्पोर्ट्स एकेडेमी, आरसिबी क्रिकेट एकेडेमी, पेलिकन्स क्रिकेट क्लब र दमौली रिभल्स क्लब छन् ।
प्रतियोगिताको विजेता टोलीले ७५ हजार तथा उपविजेता टोलीले ३० हजार रुपैयाँ पुरस्कार पाउने छ । प्लेयर अफ द सिरिज, सर्वोत्कृष्ट ब्याट्सम्यान, सर्वोत्कृष्ट बलर, उदीयमान खेलाडी र हरेक खेलमा ‘प्लेयर अफ द म्याच’ को पुरस्कार
प्रदान गरिने छ ।
तनहुँ जिल्लामा खेलकुदको माध्यमबाट युवा प्रतिभालाई उजागर गर्ने र क्रिकेटको विकास तथा विस्तार गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको तनहुँ जिल्ला क्रिकेट संघले जनाएको छ ।