सुविन र रिहान्नाले जिते टोखा नगरपालिका र डिबीए राष्ट्रिय स्तरीय जुनियर यु–१९ ब्याडमिन्टन प्रतियोगिताको स्वर्ण

Manoj Shiama
15 June, 2025 10:21 pm

 सुविन श्रेष्ठ र रिहान्ना शेरचनले टोखा नगरपालिका र डिबीए राष्ट्रिय स्तरीय जुनियर यु१९ ब्याडमिन्टन प्रतियोगिताको  यु१९ तर्फ प्रथम भएका छन् । टोखा नगरपालिका र डिबीए एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको यु – १९ ब्वाइज तर्फ त्रिभुवन आर्मी क्लबका सुविनले सुनसरी ब्याडमिन्टन एकेडेमीका एन्ड्रियज लिम्बुलाई २१–१९ र २१–१७ को सोझो सेटमा हराउँदै स्वर्ण पदक जिते । यस विधामा इमा तामाङ र सुदेश राजकोटी तेस्रो भए ।

र्गल्सतर्फको फाइनलमा आर्मीकी रिहान्ना शेरचनले लालीगुराँस स्कुलकी अस्मिता खत्रीलाई २१–१३ र २१–१३ ले हराइन् । निभा राई र प्रेन्सा श्रेष्ठ तेस्रो भए । यु१९ विधाका प्रथम हुनेले ट्रफी मेडल सहित २० हजार जिते भने दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले पाँच हजार हात पारे ।

यस्तै यु – १५ ब्वाइजतर्फ आर्मीका सुदेश राजकोटी पहिलो भए । उनले इमा तामाङलाई १६–२१, २१–१४ र २१–१८ ले हराए । कैलालीका आदित्य चौधरी र आर्मीका दीप थिङ तेस्रो भए । यु – १५ र्गल्सतर्फ निभा राईले समृद्धि श्रेष्ठलाई २१–१६ र २१–१६ ले हराउँदै स्वर्ण पदक जितिन् । अस्मिता खत्री र सविज्ञा दाहाल तेस्रो भए ।

यु–१३ विधामा ब्वाइजतर्फ आर्मीका दीप थिङले आफ्नै क्लबका रिजन मगरलाई २१–१० र २१–१० को सोझो सेटमा हराउँदै पहिलो भए । रोजमेरी स्कुलका दियोन भण्डारी र एमबीबीएफका सक्षम गुरुङ तेस्रो भए ।   र्गल्स तर्फ सुनसरीकी सविज्ञा दाहालले आर्मीकी अजरेन्का शेरचनलाई २१–१८ र २१–११ ले हराउँदै पहिलो भइन् । ग्यालेक्सी पब्लिक स्कुलकी अर्चना मगर र एपीएफकी आकृति कार्की तेस्रो भए ।

विजेता खेलाडीलाई नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङ, नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष सुवास श्रेष्ठ र वरिष्ठ अन्तर्राष्ट्रिय अम्पायर उदय अर्याल लगायतले पुरस्कार वितरण गरेका थिए ।