बास्केटबल लिगमा कीर्तिपुरले रोयललाई हरायो

हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) अन्तर्गत बिहीबार भएको खेलमा कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३–८७ ले पराजित गरेको छ ।
यस खेलपछि लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टिमको समीकरण तयार भएको छ ।
यस जितले कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा हाउण्ड्स एकेडेमीसँग खेल्नेछ । शीर्ष दुईमा रहेका गोल्डेनगेट बास्केटबल क्लब र टाइम्स बास्केटबल क्लबले फाइनल खेल्नेछ ।
लिगमा १० खेलबाट कीर्तिपुर र रोयलले समान १३ अङ्क जोडे पनि हेड टु हेडमा कीर्तिपुर अघि रहेको हो । यसअघि लिगमा रोयलले कीर्तिपुरले ९९–९६ अङ्कले पराजित गरेको थियो ।
कीर्तिपुर कभर्डहलमा भएको खेलमा कीर्तिपुरले रोयल विरुद्ध पहिलो क्वाटरमा २७–२२ को अग्रता बनाएको थियो । दोस्रो क्वाटर रोयलले २२–२१ ले आफ्नो पक्षमा पारेपछि हाफ टाइमसम्म कीर्तिपुर ४८–४४ ले अघि रह्यो । तेस्रो क्वाटर २७–२१ ले आफ्नो पक्षमा पारेपछि कीर्तिपुरले ७५–६५ को अग्रता बनायो । चौथो तथा अन्तिम क्वाटर रोयलले २२–१८ ले आफ्नो पक्षमा पारेको थियो । तर कीर्तिपुरलाई जितबाट रोक्न सकेन । कीर्तिपुरका निश्चल महर्जन मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।
रोयलका लागि प्रसाङ मास्केले सर्वाधिक ३४ अङ्क जोडे पनि जितका लागि पर्याप्त भएन । कीर्तिपुरका सयुन राईले २६ अङ्क स्कोर गरे । फाइनल खेल र तेस्रो स्थानका लागि प्लेअफ खेल ७ असारमा हुने नेपाल बास्केटबल संघले जनाएको छ ।