स्कटल्यान्डसँग नेपालको हार

Manoj Shiama
9 June, 2025 12:18 pm

अन्तिम ओभरमा २ विकेट गुमाएपछि नेपाल आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा आइतबार राती भएको खेलमा पराजित भएको छ । यस अघि नेपालले स्कटल्यान्डमाथि रोमाञ्चक एक र नेदरल्यान्ड्समाथि ५ विकेटको जित हात पारेको थियो । डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा सम्पन्न तेस्रो खेलमा नेपाल घरेलु टोलीसँग २ रनले पराजित भएको हो ।

नतिजासँगै १९ खेलबाट २४ अङ्क जोडेको स्कटल्यान्ड तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । सातौँ स्थानमा यथावत् रहेको नेपालको १५ खेलमा १० अङ्क जोडेको छ । 

स्कटल्यान्डले दिएको ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा मात्र ३२१ रन बनायो । एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले बनाएको यो सर्वाधिक योगफल हो ।

अन्तिम ओभरमा ८ विकेट गुमाइसकेको नेपाललाई जितका लागि सात रनको चाहिएको थियो । क्रिजमा रहेका करण केसी र ललितनारायण राजवंशीले लगातार २ विकेट गुमाएपछि खेल स्कटल्यान्डको पक्षमा गएको हो ।  

नेपालका सोमपाल कामीले ६७ रन बनाए । ४४ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे । भीम सार्कीले ८५ बलमा ८ चौकासहित ७३ रन बनाए । ५१ बलमा २ चौका प्रहार गरेका दीपेन्द्रसिंह ऐरीले ५६ रनको योगदान दिए ।

आसिफ शेख ३९ रनमा आउट हुँदा कुशल भुर्तेल र करण केसीले समान १७ रन जोडे । स्कटल्यान्डका म्याकेन्जी जोन्सले सर्वाधिक ३ विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ थालेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३२३ रन बनाएको हो । रिचीले सर्वाधिक १०२ रन बनाएको थियो । ११४ बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे। रिची र क्रसले छैटौँ विकेटका लागि १२५ रनको साझेदारी गरेका थिए । ६२ बलमा १२ चौका र ३ छक्का प्रहार गरेका क्रस ९६ रनमा अविजित रहे । चार्ली टियरले ६५ बलमा ९ चौकासहित ६८ रन बनाए। मार्क वार्ट २१ रनमा अविजित रहे । नेपालका करण केसी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए ।