आठ वर्षमा सुनिराको छलाङ

Manoj Shiama
2 June, 2025 11:20 am

१६ देखि २१ जुनसम्म हुने एसिया ओसियाना समूह ३ को बिलि जिन किङ कपको तयारीमा नेपाली खेलाडी व्यस्त छन् । यसै व्यस्त तयारीमा छिन्, सुनिरा थापा पनि । सुनिराको यो तेस्रो सहभागिता हो । टेनिसमा आबद्ध भएको ८ वर्ष पछि यो उनको जीवनको महत्त्वपूर्ण क्षण समेत हो । सुनिराको अलावा अभिलाष विष्ट, सिवानी गुरुङ र स्वस्तिका विष्ट छन् । टोलीको प्रशिक्षक तथा टिम क्याप्टेनमा कृष्ण घले छन् । नेपाल इभेन्ट वानमा छ । इभेन्ट वानमा इराक, म्यानमार,नेपाल, पाकिस्तान, कतार, श्रीलङ्का,सिरिया, ताजकिस्तान र तुर्किमिनिस्तान छन् । यी देशलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूहको खेल श्रीलङ्कामा हुने छ । 

यस प्रतियोगिताबाट सन् २०२६ मा समूह २ मा सहभागिता जनाउने टोलीको चयन हुने छ भने कोही पनि रेलिगेट हुने छैन । 

त्यसो त सुनिराले यस अघि पनि केही महत्त्वपूर्ण सफलता नपाएकी होइनन् । सुनिरा ८ वर्षको उमेरमा टेनिस खेलमा आबद्ध भएकी थिइन् । अहिले १६ वर्षकी भइन् । त्यसो त १६ वर्षको उमेरमा राष्ट्रिय टोलीको सदस्य हुनु नै नेपाली खेलकुदका लागि महत्त्वपूर्ण हो । 

उनको यो तयारीमा अहिले हिटिङ पार्टनरको रूपमा रहेका दाइ निश्चल कायस्थको पनि सहयोगी भूमिका छ । 

उनले यस अघि अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सफलता पाइसकेकी छिन् । सन् २०२३ मा बङ्गलादेशमा भएको प्रतियोगितामा उनले एकल र युगलमा रजत पदक जितेकी थिइन् । 

सन् २०२४ मा श्रीलङ्कामा भएको प्रतियोगितामा पनि उनले एकल र युगलमा नै रजत पदक जितेकी थिइन् । सन् २०२४मा भारतको गुढगाउँमा भएको प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेकी थिइन् । 

घरेलु प्रतियोगिताको हकमा उनले सन् २०२३ मा नेपाली सेनाले आयोजना गरेको सिओएएस टेनिस प्रतियोगितामा उपाधि जितेकी थिइन् । सन् २०२४ मा उनले गणेश मान सिंह स्मृति प्रतियोगितामा सफलता पाएकी छिन् । सन् २०२३ र २०२४ मा पोखरामा भएको माछापुच्छ्रे कपमा पनि उनले सफलता पाएकी थिइन् । बुटवलमा सन् २०२४ मा भएको प्रतियोगितामा पनि उनले सफलता पाइन् ।  

सुनिराकी प्रेरणाको श्रोत उनकै आमा निरा कायस्थ हुन् । सफ्ट टेनिसकी राष्ट्रिय खेलाडी समेत रहेकी निरा र छोरी सुनिरा दुवैले एसियाली खेलकुदमा सहभागिता जनाएर कीर्तिमान नै कायम गरेका थिए । यसै जुन महिना देखि नेपालकी शीर्ष बरीयताकी खेलाडी हुनु सुनिराका लागि थप प्रेरणाको विषय भएको छ ।