एचजेबीएलमा हाउण्ड्स र टाइम्स विजयी

हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा मंगलबार शीर्ष स्थानको हाउण्ड्स एकेडेमी र टाइम्स बास्केटबल क्लबले जित हात पारेका छन् ।
कीर्तिपुर कभर्डहलमा भएको पहिलो खेलमा हाउण्ड्सले विजय बुर्जाको उत्कृष्ट प्रदर्शनमा घरेलु टोली कीर्तिपुर क्लबलाई ८०-६९ ले पराजित गरेको हो ।
सुरुवात देखि लिएको अग्रता नै हाउण्ड्सको जितमा निर्णायक बन्यो । हाउण्ड्सले पहिलो क्वाटरमा २५-२३ को अग्रता लिएको थियो भने दोस्रो क्वाटर २१-९ र तेस्रो क्वाटर २०-११ ले आफ्नो पक्षमा पारेको थियो । चौथो क्वाटरअघि हाउण्ड्सले ६८-४३ को फराकिलो अग्रता बनाएको थियो । चौथो तथा अन्तिम क्वाटर कीर्तिपुरले २५-१४ ले आफ्नो पक्षमा पारे पनि हाउण्ड्सले जित हात पारेको हो ।
हाउण्ड्सको जित विजय बुर्जा एक्लैले सर्वाधिक ३४ अङ्क स्कोर गरे । बुर्जा मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । कीर्तिपुरका निश्चल महर्जनले २३ अङ्क स्कोर गरे ।
हाउण्ड्स चौथो जितपछि ५ खेलबाट ९ अङ्कसहित शीर्ष स्थानमै छ । तेस्रो हार व्यहोरेको कीर्तिपुरले ५ खेलबाट ७ अङ्क जोडेको छ ।
यस्तै दोस्रो खेलमा टाइम्सले सामाखुसी यूथ क्लबलाई ८४-६९ ले हराउँदै तेस्रो जित हासिल गरेको छ ।
पहिलो क्वाटरमा सामुखशीले १८-१३ को अग्रता लिए पनि त्यसपछि टाइम्सले खेलमा पुनरागमन गरेको थियो । टाइम्सले दोस्रो क्वाटरमा २७-२१ र तेस्रो क्वाटरमा २७-१२ को अग्रता बनाउँदै अन्तिम क्वाटरअघि ६७-५१ को अग्रता बनाएको थियो । चौथो तथा अन्तिम क्वाटर सामाखुसीले १८-१७ ले आफ्नो पक्षमा पारे पनि टाइम्सलाई जितबाट रोक्न सकेन ।
टाइम्सका मनिष केसीले २० अङ्क स्कोर गरे । उनी मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । यस्तै सामाखुसीका विक्रम डङ्गोलले पनि २० अङ्क स्कोर गरेका थिए ।
तेस्रो जित हात पारेको टाइम्स ८ अङ्कसहित दोस्रो स्थानमा उक्लेको छ । सामाखुसीको यो लगातार पाँचौँ हार हो । सामाखुसीले अहिलेसम्म एक खेल पनि जित्न सकेको छैन ।
पराजित भए पनि १ अङ्क प्राप्त हुने हुँदा सामाखुसी ५ अङ्कसहित अङ्कतालिकामा पुछारमा छ ।