हिमालयन जाभा बास्केटबल लिगमा ६ टिम

नेपाल बास्केटबल सङ्घ (नेवा) ले हिमालयन जाभासँगको सहकार्यमा हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) आयोजना गर्ने भएको छ । पहिलो पटक आयोजना हुन लागेको हिमालयन जाभा बास्केटबल लिग यही वैशाख २० गतेदेखि हुने नेपाल बास्केटबल संघले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
प्रतियोगितामा ६ टोलीको सहभागिता रहने नेबाका अध्यक्ष भिमसिंह गुरुङले जानकारी दिए । जसमा टाइम्स क्लब, हाउण्ड्स क्लब, गोल्डेनगेट इन्टरनेसनल क्लब, रोएल्स, कीर्तिपुर बास्केटबल क्लब र सामाखुसी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
हिमालयन जाभा बास्केटबल लिग ६ साता चल्नेछ भने खेलहरू विकेण्डमा खेलाइनेछ । जस अन्तरगत हरेक शनिवार र आइतबार खेल हुनेछ । यस्तै मौसमको अवस्था हेरेर मंगलबार र बुधवार पनि खेल खेलाउने नेवा अध्यक्ष गुरुङले जानकारी दिए । प्रतियोगिताको खेल तालिका छिटै सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।
खेल डबल राउन्ड रोविन लिगको फम्र्याटमा हुनेछ । जसमा हरेक टिमले अर्को टिमसँग दुई–दुई पटक खेल्नेछ । लिगका खेलहरू राखेपस्थित आउटडोर भलिबल कोर्टमा हुने अध्यक्ष गुरुङले जानकारी दिए ।
‘होम एन्ड अवे फम्र्याटमा खेल्ने योजना भए पनि मौसमको अवस्थाले गर्दा सिङ्गल भेन्युमै खेलाउन लागेका हौँ । हामीले राखेपको कभर्डहल र कीर्तिपुरको कभर्डहललाई पनि विकल्पमा राखेका छौँ ।’ अध्यक्ष गुरुङले भने ।
प्रतियोगितामा ३० खेल हुनेछ भने त्यसपछि फाइनल खेल हुनेछ । फाइनल खेलमा दुई प्ले अफ खेल हुनेछ । बास्केटबल लिग आयोजनाका लागि यसअघि नै नेपाल बास्केटबल सङ्घ र हिमालयन जाभाबिच सम्झौता भइसकेको छ ।
नेपाली बास्केटबल खेल र खेलाडीको विकासका लागि यो लिग आयोजना गर्न लागेको नेवा अध्यक्ष गुरुङले बताए ।
‘हामीले पहिलो पटक परीक्षण स्वरूप विकेण्ड लिग आयोजना गर्न लागेका छौँ । यसलाई पहिलो पटक राम्रोसँग सफल पार्न सके आगामी वर्षहरूमा अझ बृहत् रूपमा आयोजना गर्नेछौँ । यसले खेलाडी र बास्केटबल समर्थकहरूका लागि खेल हेर्न राम्रो अवसर सिर्जना गर्ने विश्वास लिएका छौँ ।’ नेवा अध्यक्ष गुरुङले भने ।
प्रतियोगिताको लागि १५ लाख अनुमानित बजेट रहेको र यो अझै बढ्न सक्ने आयोजकले जनाएको छ । मुख्य प्रायोजक हिमालयन जाभा बाहेक अन्य प्रायोजकहरूसँग पनि छलफल भइरहेको र लिगको पुरस्कार राशि पनि केही समयपछि सार्वजनिक गर्ने उनको भनाई थियो ।