एसियन ई स्पोर्ट्स च्याम्पियनसिप हुने

Manoj Shiama
20 April, 2025 10:43 pm


ई स्पोर्ट्स संघ नेपालको आयोजनामा एसियन ई स्पोर्ट्स च्याम्पियनसिप आयोजना हुने भएको छ । आईतबार आयोजक संस्था ई स्पोर्ट्स संघ नेपालले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे औपचारिक जानकारी दिएको हो ।
संघका अध्यक्ष अन्जन धमलाले सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको कार्यक्रमलाई बैशाखको अन्तिम साता सञ्चालन गर्न लागिएको जानकारी दिए ।
‘ई स्पोर्ट्सको पब्जी मोबाईल खेललाई समावेश गरेर एसियाली स्तरको प्रतियोगिता आयोजना गर्न लागेका छौं ।’ धमलाले पत्रकार सम्मेलनमा भने, ‘भर्चुअल एरिनामा एसियाका उत्कृष्ट गेमरलाई एकताबद्ध गर्न प्रतियोगिता उपयोगी हुने विश्वास छ ।’
संघका अनुसार अनलाईनमार्फत हुने प्रतियोगिता बैशाख २६, २७ र २८ गते सञ्चालन हुनेछ ।
संघका वरिष्ठ उपाध्यक्ष हिमबिक्रम केसीले प्रतियोगितामा नेपालसहित एसियाका १३ देश सहभागी हुने बताए । उनका अनुसार प्रतियोगितामा मलेसिया, सिंगापुर, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, पाकिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, लेबनान, मंगोलिया, श्रीलंका, माल्दिभ्सले सहभागिता निश्चित गरेका छन् ।
सचिव आशिष दाहालले एसियाली देशलाई प्रतियोगिताका लागि निमन्त्रणा गरेर सहभागिता निश्चित गरिएको उल्लेख गरे । ईशानको इभेन्ट कमिटीका संयोजक समेत रहेका दाहालले एसियाली च्याम्पियनसिपको तयारी तिव्र रुपमा अघि बढेको बताउँदै प्रतियोगितालाई भब्य बनाउन संघ लागिपरेको बताए ।
कुल १० लाख प्राइज पुल रहेको प्रतियोगितामा शीर्ष ६ टिमले पुरस्कार रकम प्राप्त गर्नेछन् । पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष कल्पदीप राई, सचिव बालकृष्ण केसी, सदस्य घनश्याम ढुंगेल, सिजन भट्टराईलगायतको उपस्थिती रहेको थियो ।