आठौँ राष्ट्रिय स्केटवोर्ड च्याम्पियनसिपमा खुसी, गजेन्द्र र अभिषेक च्याम्पियन

आठौँ राष्ट्रिय स्केटवोर्ड च्याम्पियनसिप २०८२ शनिवार सम्पन्न भयो । नेपाल स्केटिङ तथा स्केट बोर्ड सङ्घद्वारा वार्षिक रूपमा आयोजना हुने गरेको सो च्याम्पियनसिपमा महिला खुलातर्फ खुसी विक प्रथम, लेमन मगर दोस्रो र समीक्षा राईले तेस्रो स्थान प्राप्त गरिन । यस्तै खुला पुरुषतर्फ गजेन्द्र बर्देवा प्रथम, शरद राई दोस्रो र वसन्त राई तेस्रो भए ।
यस्तै गरेर पुरुष जुनियरतर्फ अभिषेक परियार प्रथम, अङ्कित विक दोस्रो र अविनाश कुमाल तेस्रो भएको स्केटिङ तथा स्केट बोर्ड सङ्घका महासचिव सत्य थापाले बताए । खुलातर्फको प्रतियोगिताका प्रथमले २५ हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार रुपियाँ पुरस्कार पाएका थिए । यस्तै जुनियरतर्फ प्रथमले १० हजार, दोस्रोले पाँच र तेस्रोले तीन हजार रुपियाँ पुरस्कार हात पारेका छन् ।

तीनै वटै विद्याका विजेता खेलाडीहरूलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल स्केटिङ तथा स्केट बोर्डका अध्यक्ष अच्युत खनाल, सङ्घका सल्लाहकार तथा प्रशिक्षक दिलीपराज बराल लगायतले पुरस्कार वितरण गरे । यसअघि शनिवारै बिहान सो च्याम्पियनसिप २०८२ को उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले गरे ।
प्रमाणपत्र वितरण गर्दे ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घ पनि ओलम्पिक कमिटीको सदस्य सङ्घ भएकोले अब नेपाल स्केटिङ तथा स्केट बोर्ड अन्तरगतका खेलाडीले विभिन्न तहका प्रतियोगितामा सहभागी हुने अवसर पाउने बताए ।
सो च्याम्पियनसिप अन्तर्गत शुक्रवार विभिन्न प्रदेशहरूबाट छनौट चरणका खेलहरू भएका थिए । सोही छनौट चरणबाट प्रत्येक समूहबाट १६÷१६ जना फाइनल चरणका लागि छनौट भएका थिए ।