राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप सुरु

Manoj Shiama
18 April, 2025 3:16 pm

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घको आयोजनामा आठौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता शुक्रवार सुरु भयो । प्रतियोगितामा २ सय ५० पुरुष तथा १ सय ५० महिला खेलाडीको सहभागिता रहेको छ । ७ प्रादेशिक टोलीको प्रतियोगितामा सहभागिता छ । प्रतियोगिता अन्त्रगत पहिलो दिन छनोट चरणको खेल भयो भने दोस्रो दिन अन्तिम चरणको प्रतियोगिता हुने छ । 

आयोजक सङ्घका अध्यक्ष अच्युत खनालले दिएको जानकारी अनुसार यो प्रतियोगिता सन् २०२५ मा दक्षिण कोरियाको इन्चोजमा हुने एसियाली च्याम्पियनसिपको छनोट प्रतियोगिताको रूपमा समेत रहेको छ ।  

जारी प्रतियोगितामा फ्रिस्टाइल विधाअन्तर्गत वेस्ट ट्रिक र वेस्ट रन स्पर्धाका खेल भएका हुन् । शीर्ष ३ स्थानमा रहने खेलाडीले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । दुई दिने प्रतियोगिताका खेलहरू टोखास्थित स्केटर्स नेपाल स्केटपार्कमा जरी छ । 

कार्यक्रमको औपचारिक उद्घाटन भने शनिवार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्क लाल घिसिङले गर्ने छन् । त्यस्तै कार्यक्रमका विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठको प्रमुख आतिथ्यमा प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिने छ ।