नेपाल ओलम्पिक कमिटीले पायो अन्तर्राष्ट्रिय मान्यता

Manoj Shiama
18 April, 2025 10:32 am

५ नयाँ ओलम्पिक खेल सङ्घलाई मान्यता दिने निर्णयसँगै नेपालमा ओलम्पिक कमिटीको आन्तरिक विवाद सकिएको छ । गत मार्च महिनामा कुवेतमा बसेको ओलम्पिक काउन्सिल अफ एसियाको बैठकमा नेपालका ५ खेलका अधिकारी र नेपाल ओलम्पिक कमिटीको बिचमा भएको वार्ताको सहमति अनुसार ६ अप्रिलमा नेपालमा ओलम्पिक कमिटीको विशेष साधारण सभा भएको थियो । 

सोही साधारण सभाले नेपाल बेसबल एन्ड सफ्ट बल एसोसिएसन, नेपाल स्केटिङ एन्ड स्केट बोर्डिङ एसोसिएसन, नेपाल रग्बी सङ्घ, नेपाल मोर्डन पेन्टाथलन सङ्घ तथा नेपाल इक्वेस्ट्रियन सङ्घलाई सदस्यता दिने निर्णय गरेको हो । 

कुवेतको बैठकमा आफूहरूले सदस्यता पाउनु पर्ने माग सहित अदालतमा दायर गरेको रिट फिर्ता लिने तथा ती ५ सङ्घलाई मान्यता दिने दुई पक्षीय निर्णय भएको थियो । 

सोही निर्णय अनुसार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको निर्णय अनुसार नेपाल ओलम्पिक कमिटीलाई वैधानिक मान्यता दिने निर्णय गरेको हो । 

एनओसी रिलेसन ओलम्पिक सोलिडाटरिटी तथा ओलम्पिजम ३६५ निर्देशक जेम्स म्याकलायडले नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठलाई सम्बोधन गरेर लेखेको पत्रमा उल्लेख छ ।