रविना र स्वेच्छाको जोडी पहिलो

tt final

नेपाल प्रहरी क्लबका रविना महर्जन र स्वेच्छा नेम्वाङको जोडीले हुलास ३७ औं राष्ट्रिय टेबुल टेनिस प्रतियोगिताको महिला डबल्समा मंगलबार पहिलो भएका छन् । विराटनगरस्थित शहिद रंगशालाको कभर्डहलमा भएको उपाधि भिडन्तमा रविना र स्वेच्छाको जोडीले आफ्नै क्लबका नविता श्रेष्ठ र एलिना महर्जनको जोडीलाई ११–९, ११–५ र ११–४ को सोझो सेटमा पराजित गरे । सुनसरीका अपेक्षा शाक्य र गीता थापा तथा एपीएफ क्लबका सेलिशा खड्गी र सोनु थापा मगरको जोडी तेश्रो भए ।
पुरुषको टिम इभेन्टमा एपीएफ पहिलो भयो । शिवसुन्दर गोथे, चन्दन शाही र पुरुषोत्तम वज्राचार्य सम्मिलित टोलीले प्रहरीका दीप साउन, अमरलाल मल्ल र राकेश महर्जनको टोलीलाई ३–२ सेटमा हराए । एपीएफले पुरुष टिम इभेन्टमा पहिलो पटक स्वर्ण जितेको हो । सुनसरी र ललितपुरले तेश्रो स्थानमा चित्त बुझाए ।
महिला टिम इभेन्टमा भने नवीता श्रेष्ठ, एलिना महर्जन र स्वेच्छा नेम्वाङ रहेको प्रहरी टिमले बाजी मा¥यो । उक्त टोलीले एपीएफका सेलिशा खड्गी, सोनु थापा मगर र अनिमा अधिकारीको टोलीलाई ३–० को सोझो सेटमा निराश पा¥यो । सुनसरी र काठमाडौं तेश्रो भए ।
प्रहरीका दीप साउन र स्वेच्छा नेम्वाङको जोडी मिक्स डबल्स च्याम्पियन बने । फाइनलमा उक्त जोडीले एपीएफका शिवसुन्दर गोथे र सेलिशा खड्गीको जोडीलाई ३–० ले पाखा लगाए । प्रहरीका अमरलाल मल्ल र नविता श्रेष्ठ तथा एपीएफका पुरुषोत्तम वज्राचार्य र सोनु थापा मगरको जोडी तेश्रो बने ।
अखिल नेपाल टेबलटेनिस संघ र मोरङ जिल्ला टेबलटेनिस संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष डबल्सको उपाधिका लागि एपीएफका शिवसुन्दर गोथे र चन्दन शाहीको जोडी तथा प्रहरीका अमरलाल मल्ल र दीप साउनको जोडी भिड्ने छन् ।
पुरुष सिंगल्सको सेमिफाइनल शीर्ष वरीयताका प्रहरीका दीप साउन र तेश्रो वरीयताका एपीएफका शिवसुन्दर थोथो तथा एपीएफका दोश्रो वरीयताका पुरुषोत्तम वज्राचार्य र प्रहरीका चौथो वरीयताका अमरलाल मल्लबीच हुनेछ ।
सोही स्पर्धाको महिला सेमिफाइनलमा शीर्ष वरीयता प्राप्त नविता श्रेष्ठले प्रहरीकी स्वेच्छा नेम्वाङ विरुद्ध खेल्नेछिन् भने प्रहरीकी रविना महर्जनले प्रहरीकै दोश्रो वरीयताकी एलिना महर्जनको चुनौती सामना गर्ने छिन् ।
पुरुष ४५ वर्षमाथि भेट्रान्स एकलको राउन्ड रोविन लिगमा शत प्रतिशत जित निकाल्दै काठमाडौंका कपुर शर्मा पहिलो भए । ६ खेलाडी सहभागी उक्त स्पर्धामा कपुरले ५ अंक जोडे । ४ अंकसाथ ललितपुरका पन्नकाजी शाक्य दोश्रो तथा ३ अंकसाथ काठमाडौंका किरण ब्यञ्जन्कार तेश्रो भए । प्रतियोगिताको अन्तिम दिन बुधबार ४ सेमिफाइनल र ३ फाइनल खेल हुनेछ ।

Comment