ई स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असारमा

ई स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असारको दोस्रो साता कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने भएको  । ई स्पोर्ट्स सङ्घ नेपालको आयोजनामा ई स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असार १४ र १५ गते सुर्खेतमा आयोजना हुने भएको हो ।

संघले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी गराएको हो । ई स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिपमा पब्जी मोबाइल, मोबाइल लिजेण्ड्स र ई फुटबल गरी तीन विधाका खेललाई समावेश गरिएको छ । पब्जी मोबाइलको छनोट अनलाइनमार्फत हुने र अन्तिम १६को फाइनल राउन्ड भौतिक रूपमा गरिने जानकारी दिइएको छ । मोबाइल लिजेण्डका सम्पूर्ण खेल अनलाइन र ई फुटबलको प्रारम्भिक छनोट अनलाइन र सेमिफाइनल र फाइनल प्रतिस्पर्धा भौतिक रूपमा सञ्चालन गरिने बताइएको छ ।

सङ्घका अध्यक्ष अञ्जन धमलाले नेपालमा बढ्दो लोकप्रियता, अन्तर्राष्ट्रिय सम्भावना र लगानीको प्रतिफलका हिसाबले तीन खेललाई प्राथमिकतामा राखेर राष्ट्रिय च्याम्पियनसिपमा समावेश गरिएको जानकारी दिए ।

प्रतियोगिताको प्राईज पुल १२ लाख रुपैयाँ रहेको छ । प्राईज पुलको ७० प्रतिशत पुरस्कार पब्जी मोबाइलमा, २० प्रतिशत पुरस्कार एमएलबीबी र १० प्रतिशत पुरस्कार ई फुटबलमा बाँडिनेछ । तीन वटै खेल विधाका विजेताले आसन्न एसियन ई स्पोर्ट्स च्याम्पियनसिपको नेपाल छनोटको फाइनल चरणमा स्थान सुरक्षित गर्ने बताइएको छ ।

टिम दर्ता शुक्रवारबाटै खुल्ला गरिएको छ भने प्रतियोगितामा प्रदेश र क्लब गरी तीन सय बढी टिमले छनोट चरणबाट भाग लिने संघले जनाएको छ । सङ्घको वेब साइटमा गएर टिम दर्ता गर्न सकिने र भौतिक रूपमा समेत टिम दर्ताको सुविधा राखिएको सङ्घका सचिव आशिष दाहालले बताए ।

अनलाइन छनोट असार ४ देखि १० गतेसम्म र भौतिक रूपमा अन्तिम चरणका खेल असार १४ र १५ गते सुर्खेतमा हुनेछ । प्रतियोगितामा १६ वर्षमाथिका खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन् ।

सङ्घका अध्यक्ष अञ्जन धमलाले आधुनिक खेल विधाको रूपमा अन्तर्राष्ट्रिय रूपमा उदाएको ई स्पोर्ट्सलाई विश्व जगतमा प्रतिस्पर्धात्मक खेलको रूपमा विकास गर्ने लक्ष्य सहित आफूहरू अघि बढेको जानकारी गराएका थिए ।

Comment