कृष्ण र दीक्षा जुनियर च्याम्पियन

junior
नेपाल आर्मीका कृष्ण थापा मगर र ललितपुरकी दीक्षा तामाङले हुलास ३७ औं राष्ट्रिय टेबुल टेनिस प्रतियोगिताको जुनियर एकलको उपाधि सोमबार जितेका छन् । कृष्ण पुरुष र दीक्षा महिलातर्फ च्याम्पियन बने ।
विराटनगरस्थित शहिद रंगशालाको कभर्डहलमा भएको फाइनलमा कृष्णले आफ्नै क्लबका श्यान्टू श्रेष्ठलाई ७–११, १२–१०, ५–११, ११–८ र ११–८ को सेटमा पराजित गरे । मोरङका करण राई तथा पर्साका रितिज जोशीले तेश्रो स्थानमा चित्त बुझाए ।
अखिल नेपाल टेबलटेनिस संघ र मोरङ जिल्ला टेबलटेनिस संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको महिला फाइनलमा दीक्षाले एपीएफ क्लबकी सोनु थापा मगरलाई ११–७, ६–११, ११–२, ९–११ र ११–९ को सेटमा हराइन् । रुपन्देहीका गीता अर्याल र स्वीकृति श्रेष्ठ संयुक्त रुपमा तेश्रो बने ।
बैशाख २ गतेसम्म चल्ने प्रतियोगितामा २ सय ५० खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । विराटनगरमा यसअघि २०३१ र २०६७ सालमा राष्ट्रिय टेबलटेनिस भएको थियो ।

Comment