निराजन र नीरविक्रमको जोडीलाई उपाधि

badminton
कम्प्लिट हेल्थ क्लब (सीएचसी) का निराजन देवकोटा र नीरविक्रम देवकोटाको जोडीले दोश्रो देउराली क्लब खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबल्सको उपाधि सोमबार जितेका छन् । आयोजक देउराली क्लबको ३७ औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा उक्त जोडीले बसन्धारा क्लबका आकाश छन्त्याल र राम बानियाँको जोडीलाई २२–२० र २१–१७ को सोझो सेटमा पराजित गरे । सीएचसीका राजु भुजु र प्रकाश श्रेष्ठ तथा आयोजकका डिफेन्डिङ च्याम्पियन नारायण राना मगर र थम राना मगरको जोडी संयुक्त रुपमा तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १८ हजार र ६ हजार नगद पुरस्कार हात पारे ।
पुरुष भेट्रान्स डबल्सको उपाधि सीएचसीका अनिल शाह र नवीनबाबु श्रेष्ठको जोडीले जिते । फाइनलमा उक्त जोडीले आफ्नै क्लबका राजु भुजु र केशव पौडेलको जोडीलाई २१–१६ र २१–१० ले हराए । विजेताले २० हजार र उपविजेताले १२ हजार नगद पुरस्कार पाए ।
आयोजक देउराली क्लबका सदस्यबीच भएको आन्तरिक पुरुष डबल्स प्रतिस्पर्धामा राजेश जोशी र थम राना मगर पहिलो तथा हिमान्शु श्रेष्ठ र केशव पौडेलको जोडी दोश्रो भए ।
विजेतालाई उपप्रधान, संघीय मामिला तथा स्थानिय विकास मन्त्री प्रकाशमान सिंह, देउरालीका संस्थापक अध्यक्ष दिनेशकुमार अर्याल, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रमेशकुमार श्रेष्ठ, देउरालीका अध्यक्ष बसन्तकुमार श्रेष्ठ, प्रतियोगिता संयोजक सुन्दरबहादुर बुढाथोकीलगायतले पुरस्कार प्रदान गरे । चैत २५ देखि सुरु भएको प्रतियोगितामा १ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Comment