पलेसा पेरिस पारा ओलम्पिकका लागि छनोट

नेपाली पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धन यसै वर्ष फ्रान्समा हुने पेरिस पारा ओलम्पिकका आइतबार छनोट भएकी छन् ।
चीनको ताईयाङमा भएको एसियाली छनोट प्रतियोगिताअन्तर्गत के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेसाले स्वर्ण जित्दै पेरिस पारा ओलम्पिकमा स्थान सुरक्षित गरिन् । यो उपलब्धिसँगै इतिहास रचेकी पलेसा पारा ओलम्पिकका लागि छनोट हुने पहिलो नेपाली खेलाडी बनेकी छन् । यसअघि तेक्वान्दोकै दुई खेलाडीले छनोट चरण पार गरेर ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए । सँगिना वैद्यले २००४ को एथेन्स तथा दीपक विष्टले २००८ को बेइजिङ ओलम्पिकमा छनोट चरण पार गरेर खेलेका थिए ।
पलेसाले फाइनलमा इरानकी लेइला मिर्जाइलाई ५–४ ले पराजित गरी स्वर्ण जित्दै इतिहास रचेकी हुन् । त्यसअघि सेमिफाइनलमा पलेसाले उज्बेकिस्तानकी करिमा मेलिकुजिएभालाई १८–२ ले हराउँदै फाइनल यात्रा तय गरेकी थिइन् । पलेसाको स्पर्धामा ४ खेलाडी सहभागी थिए । पारा छनोटको प्रत्येक स्पर्धामा पहिलो हुने खेलाडी पेरिस पारा ओलम्पिकलाई छनोट हुने प्रावधान थियो ।
पलेसा एसियाली पारा खेलकुदमा पदक जित्ने पहिलो र एक्लो नेपाली खेलाडी पनि हुन् । पलेसाले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । टोकियो पारा ओलम्पिक– २०२० मा पनि पलेसाले २ ‘बाउट’ जितेर इतिहास रचेकी थिइन् ।
नेपालमा छनोट प्रतियोगिता खेलेपछि पलेसा चीनको सांघाईं गएकी थिइन् । सांघाईबाटै पलेसा एसियाली छनोट खेल्न ताइयान गएकी थिइन् । पलेसा सांघाईको तोङजी विश्वविद्यालयमा आर्किटेक्चर अध्ययन गरिरहेकी छन् ।
एसियाली छनोटमा नेपालबाट २ पुरुष खेलाडीले पनि प्रतिस्पर्धा गरेका थिए । पुरुष ६३ केजीमुनि भरतसिंह महता र ५८ केजीमुनि अमिर ब्लोन पदकविहीन बने । एक ‘बाउट’ जितेका भरतले इन्डोनेसियाका खेलाडीलाई पराजित गरेका थिए ।

Comment