फिफ्टिन्स रग्बी च्याम्पियनसिपमा विदेशी खेलाडी

नेपाल रग्बी सङ्घको आयोजनामा ६ देखि १२ फागुनसम्म काठमाडौँको दशरथ रङ्गशालामा ’फिफ्टिन्स रग्बी च्याम्पियनसिप २०८०’ को आयोजना हुने भएको छ । प्रतियोगितामा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी खेलकुद क्लब, एपीएफ क्लब र गोर्खाली रग्बी क्लबले सहभागिता जनाउने भएको छ।

नेपाल रग्बी सङ्घका महासचिव गोविन्द घिमिरेले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । 

उद्घाटन खेलमा गोर्खाली रग्बी क्लब र नेपाल प्रहरी खेलकुद क्लब भिड्ने भएका छन् भने दोस्रो खेलमा एपीएफ क्लब नेपाल र त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुनेछ । 

राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेतालाई संघले यस वर्षदेखि रनिङ ट्रफी प्रदान गर्न लागेको सङ्घका अध्यक्ष दीपक देवकोटाले बताए । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछ। साथै प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ पाउनेछ।

सहभागी टिमलाई रग्बी प्रशिक्षक विजेलाश सनले एक महिना अघि देखिनै प्रशिक्षण गरिरहेको पत्रकार सम्मेलनमा बताइयो । 

नेपाल रग्बी संघले हरेक वर्ष आयोजना गर्ने प्रतियोगिताको यो पाँचौँ संस्करण हो । यसअघिको चार वटै संस्करण त्रिभुवन आर्मी क्लबले जितेको थियो । निकै रोमाञ्चक रूपमा टुङ्गिएको सो प्रतिस्पर्धामा त्रिभुवन आर्मीले अन्तिम सेकेन्डमा ’ट्राइ’ गर्दै गोर्खाली क्लबलाई पराजित गरेको थियो ।

यस पटक गोर्खाली क्लबले ५ विदेशी खेलाडीहरूलाई बोलाएको गोर्खाली क्लबका मेनेजर सुरेन्द्र कुँवरले बताए ।

उनका अनुसार गोर्खाली प्रतियोगिता खेल्न जापान, भारत र इङ्ग्याण्डका खेलाडी नेपाल आइसकेका छन् भने दुई खेलाडी आउने क्रममा छ ।

नेपाल रग्बी सङ्घका कोषाध्यक्ष दीपक अधिकारीले प्रतियोगितामा ५ विदेशी राख्न पाउने र त्यसमा एक पटकमा ३ खेलाडी मैदान प्रवेश गर्न पाउने नियम बनाइएको बताए । पत्रकार सम्मेलनमा सहभागी चार वटै टोलीले तयारी गरेको बताएका थिए ।

प्रतियोगितापछि राष्ट्रिय टिम निर्माण गर्ने नेपाल रग्बी सङ्घका अध्यक्ष दीपक देवकोटाले बताए । उनका अनुसार नेपालले बङ्गलादेशसँग रग्बी १५ को दुई देशीय प्रतियोगिता खेल्न नेपाल निम्त्याउन लागिएको छ । उक्त प्रतियोगिता आगामी वैशाख महिनामा गर्ने योजना बनाइएको उनले बताए ।

Comment