क्षितिज र सीमालाई उपाधि

 

प्रथम मुख्यमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०२४ को उपाधि एपिएफका क्षितिज खनाल र कस्तुरी कलेजकी सीमा राजवंशीले जितेका छन् ।

फिटनेस पार्क ब्याडमिन्टन एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुष एकल तर्फ क्षितिजले एपिएफकै देवराज रानालाई २१–१९, २१–१४ ले पराजित गर्दै उपाधि हात पारेका हुन् । यस्तै सीमाले महिला एकलको फाइनलमा नेपाल पुलिस क्लबकी निता लम्साललाई २१–१०, १५–२१, २१–१६ ले पराजित गर्दै उपाधि हात पारेकी हुन् । पुरुष तर्फ तेस्रो स्थानमा नखिपोटका विवेक चौधरी र एपिएफका अमन महर्जन तथा महिला तर्फ एपिएफका शोभा गौचन र रिना तामाङ रहे ।

विजयी खेलाडीहरूले नगद ५० हजार, उपबिजयीले नगद २५ हजार र तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरूले नगद १० हजार प्राप्त गरे । यसका साथै विजयी खेलाडीहरूले मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

एकेडेमीको बशुन्धरास्थित आफ्नै कोर्टमा भएको प्रतियोगिताको पुरुष युगल तर्फ एपिएफका क्षितिज खनाल र देवराज रानाको जोडीले आफ्नै क्लबका सुजन थापा र राजु थापाको जोडीलाई १४–२१, २४–२२, २१–१४ ले पराजित गर्दै उपाधि उचाले । तेस्रो स्थानमा नेपाल पुलिस क्लबका पूर्ण थापा र गौरव दाहालको  जोडी तथा सुनिल जोशी र दीपक बोहराको जोडी रहे । 

शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद ५० हजार, २५ हजार र १० हजारका साथ मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

तीन दिन सम्म सञ्चालन भएको प्रतियोगितामा ब्वाईज यु – १३ तर्फको प्रतिस्पर्धामा एपिएफका आरुष सिम्खडाले जित हात पारे । उनले कैलालीका रियांस चौधरीलाई २३–२१, २१–१६ ले पराजित गरे । आरुषले नगद १५ हजार र रियांसले नगद १० हजार प्राप्त गरे । यस्तै तेस्रो स्थान प्राप्त गर्ने कास्कीका आदित्य चौधरी र तनहुँका सफल भुजेलले नगद ५÷५ हजार प्राप्त  गरे । साथै विजयी खेलाडीहरूले मेडल, प्रमाण पत्र र ट्रफी पनि प्राप्त गरे ।

र्गल्स तर्फ मोहन भूगोल फाउन्डेसन, कास्कीकी निभा राईले दीपक ब्याडमिन्टन एकेडेमीकी अस्मिता खत्रीलाई २१–१३, २१–११ ले पराजित गर्दै उपाधि उचालिन् । तेस्रो स्थानमा सिन्धुपाल्चोककी आश्ना श्रेष्ठ र ग्यालेक्सी स्कुलकी अप्सरा यादव रहे । शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरूले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

यु – १९ तर्फको ब्वाईज एकलमा एपिएफका रोशन साउदले आफ्नै क्लबका अरुण अधिकारीलाई २१–१९, २१–१५ ले पराजित गर्दै प्रथम स्थान प्राप्त गर्न सफल भए । तेस्रो स्थानमा एपिएफका अनिल मल्ल र युनिटीका सुनिल कार्की रहे । यस्तै र्गल्स तर्फ दीपक ब्याडमिन्टनकी अस्मिता खत्रीले जित हात पारिन् । एपिएफकी रिना तामाङ सँग पहिलो सेट १५–२१ ले गुमाएकी अस्मिताले दोस्रो सेटमा पनि १३–१६ ले पछि परेको अवस्थामा रिनाले घुँडामा चोट बोक्न पुगे पछि खेल बिचैमा छोडे पश्चात् जित हात पारेकी थिइन् । तेस्रो स्थानमा इमाडोलकी टिशा रानी शाक्य र मोहन भूगोल फाउन्डेसनकी निभा राई रहे ।

शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरूले नगद २५ हजार, १५ हजार र ५ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको भेट्रान ४५ वर्ष माथिको स्पर्धामा कास्कीका शम्भु श्रेष्ठ र राजेश गुरुङको जोडीले जित हात पारे । शम्भु र राजेशको जोडीले चन्द्रागिरि ब्याडमिन्टन क्लबका हरि खत्री र राजकुमार पोखरेलको जोडीलाई १९–२१, २१–११, २१–११ ले पराजित गरेका हुन् । तेस्रो स्थानमा टोखाका टिका थापा र रामशरण के.सी.को जोडी तथा आयोजक फिटनेस पार्कका सुभाष श्रेष्ठ र प्रेम घलेको जोडी रहे । 

विजयी शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरूले नगद ३० हजार, २० हजार र १० हजारका साथ मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । 

भेट्रान ५५ वर्ष माथिको स्पर्धामा धादिङका विष्णु लाल श्रेष्ठ र चितवनका बुद्धि चौधरीले जित हात पारे । श्रेष्ठ र चौधरीको जोडीले कास्कीका मनोज कुमार श्रेष्ठ र दिल पुनको जोडीलाई १८–२१, २१–११, २१–१३ ले पराजित गरेका हुन् । तेस्रो स्थानमा आयोजक फिटनेस पार्कका उमेश के.सी. र पूर्ण चन्द्र जोशी तथा धन्यन्तरीका गणेश थापा र गङ्गा बहादुर राईको जोडी रहे । 

शीर्ष तीन स्थान प्राप्त गर्ने जोडीले नगद २० हजार १० हजार र ५ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

विजयी खेलाडीहरूलाई प्रमुख अतिथि कोसी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव हंसराज वाग्ले, विशेष अतिथि बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, बागमती प्रदेश ब्याडमिन्टन सङ्घका संयोजक रुद्र कुमार थिङ्ग, कोसी प्रदेश ब्याडमिन्टन सङ्घका संयोजक योगेश्वर श्रेष्ठ, सदस्य भवानी आङ्गदम्बे, सहआयोजक बट्टार यूथ क्लबका अध्यक्ष एवं बागमती प्रदेश फुटबल सङ्घका सह महासचिव सुरज श्रेष्ठ, ग्यालेक्सी पब्लिक स्कुलकी प्रिन्सिपल सुदिना गुरुङ, समाजसेवी नीराजन सिम्खडा लगायतले पुरस्कार वितरण गरेका थिए । 

Comment