मुख्यमन्त्री कप बुधवार देखि

फिटनेस पार्क ब्याडमिन्टन एकेडेमीको आयोजनामा प्रथम मुख्यमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बुधवार देखि हुने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा ९ स्पर्धा समावेश गरिएको जानकारी गराइयो ।  विश्व ब्याडमिन्टन महासङ्घको नियम अनुसार खेलाइने प्रतियोगितामा पुरुष एकल, महिला एकल, यु–१९ पुरुष एकल, यु– १९ महिला एकल, यु– १३ महिला एकल, यु–१३ पुरुष एकल, पुरुष युगल, ४५ वर्ष भन्दा माथिको भेट्रान्स तथा ५५ वर्ष भन्दा माथिको भेट्रान्स स्पर्धा समोवश छ । सम्पूर्ण खेलहरू वसुन्धरा स्थित आयोजककै कभर्ड हलमा हुने छ । 

प्रतियोगिताको पुरुष र महिला एकलको विजेतालाई ५० हजार, उप विजेतालाई २५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । 

यसै गरी यु–१९ स्पर्धामा उपाधि विजेतालाई २५ हजार, उप विजेतालाई १५ हजार तथा तेस्रो हुने खेलाडीलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । 

पुरुष युगल तर्फ विजेता जोडीलाई ५० हजार, उपविजयीलाई २५ हजार तथा तेस्रो हुने जोडीलाई १० हजार रुपैयाँ प्रदान गरिने छ । ४५ वर्ष भन्दा माथिको भेट्रान्समा विजयीलाई ३० हजार रुपैयाँ, उपविजयीलाई २० हजार तथा तेस्रो हुनेलाई १० हजार रुपैयाँ प्रदान गरिने छ । ५५ वर्ष भन्दा माथिको भेट्रान्स समूहमा विजेतालाई २० हजार, उप विजेतालाई १० हजार तथा तेस्रो हुनेलाई १० हजार रुपैयाँ प्रदान गरिने छ । 

पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक राम त्रिपाठी, नेपाल ब्याडमिन्टन सङ्घका पूर्व उपाध्यक्ष तथा तदर्थ कमिटीका सदस्य सुवास श्रेष्ठ, अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्याल, फिटनेस पार्क एकेडेमीका प्रोप्राइटर अर्जुन खनाल, खेतान स्पोर्ट्स फाउन्डेसनका प्रमुख कार्यकारी विकास खेतान, वरिष्ठ पत्रकार टङ्क पन्त र बाग्मती प्रदेश ब्याडमिन्टन सङ्घका संयोजक रुद्र थिङ उपस्थित थिए । सो अवसरमा बोल्दै थिङले कुनै पनि ब्याडमिन्टन प्रतियोगिता आयोजनामा सङ्घको नाममा अवरोध सृजना हुनु दुखद भएको बताए । यसै गरी, कार्यक्रम संयोजक रामले तदर्थ कमिटीका संयोजक राम जी बहादुर श्रेष्ठले आफूले भनेको प्राविधिक राखे मान्यता दिने अन्यथा नदिने भन्दै अवरोध सृजना गरेको जानकारी गराए । प्रतियोगिताका लागि प्रभु बैङ्क, स्पार्क कार, ग्रिन सिटी अस्पताल, लिनिङ, वेभ नेपाल, नागेश्वरी क्रिएसन र एसियन स्पोर्ट्स टुडेले सहयोग गरेका छन् । 

प्रतियोगितामा २ सय भन्दा बढी खेलाडीको सहभागिता रहने छ । खेलको मुख्य प्रायोजक बाग्मती प्रदेश खेलकुद परिषद् हो । 

Comment