वैधता नपाएको ब्याडमिन्टन संघले चाल्यो खेलाडीको हित विपरीत अर्को कदम

एक पछि अर्को गलत निर्णय गर्दै ब्याडमिन्टन खेलाडीका माझमा अलोकप्रिय रहेको ब्याडमिन्टन नेतृत्वले आफूलाई खेल विरोधी गतिविधिमा सामेल गरेको छ । बाग्मती प्रदेश खेलकुद परिषद्को सहयोग रहेको ‘ प्रथम मुख्यमन्त्री कप खुला ब्याडमिन्टन प्रतियोगिता २०८० मा ’ सहभागिता नजनाउनका लागि ब्याडमिन्टन सङ्घबाट निर्देशन जारी भएको छ । संघले टेक्निकल अफिसियललाई पनि यस्तै निर्देशन दिएको छ । अहिलेको ब्याडमिन्टन सङ्घलाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले मान्यता दिएको छैन ।  

फिटनेस पार्क ब्याडमिन्टन एकेडेमीको आयोजनामा ३ देखि ६ माघसम्म बरियाप्राप्त स्टार खेलाडीको बिचमा प्रतियोगिता हुन लागेको हो । सङ्घको नाममा जारी विज्ञप्तिमा कसैको पनि हस्ताक्षर छैन । तथापि हस्ताक्षर रहित रूपमै सङ्घको लेटर प्याड र छाप भने प्रयोग भएको छ । ब्याडमिन्टनकर्मीकै नजरमा यसलाई चरम दुरुपयोगको रूपमा हेरिएको छ । ब्याडमिन्टन एसियाबाट प्राप्त सफ्टवेयर पनि आफूखुसी दुरुपयोग भएको  आरोप लागेको छ । यसको फल स्वरूप सबै ब्याडमिन्टन प्रतियोगितामा नेतृत्वले चाहेको व्यक्तिलाई मात्र बोलाउनु पर्ने बाध्यता सृजना गरिएको छ । 

एकेडेमीले मान्यता नपाएको र अवैध भए पनि प्रतियोगिता आयोजनाका लागि स्वीकृति भने मागेको थियो ।  

Comment