सुविन र रिहानालाई योनेक्स इनास सव जुनियर उपाधि


नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका यु १५ तर्फको पुरुष तर्फ सुविन श्रेष्ठ र महिला तर्फ रिहाना शेरचन काठमाडौँमा सम्पन्न योनेक्स सनराईज ईनास सव जुनियर च्यालेन्ज २०८० को उपाधि हात पारेका छन् ।
सुविनले शनिवार सम्पन्न फाइनल खेलमा आर्मीकै सुदेश राजकोटीलाई २१—१५, २१—१० ले र रिहानाले मोहन भूगोल ब्याडमिन्टन फाउन्डेसनका निभा राईलाई २१—१२, २१—१० ले पराजित गर्दै उपाधि उचालेका हुन् । विजयी खेलाडीहरूले नगद १० हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । उप विजयी खेलाडीहरूले मेडल प्रमाण पत्र र ट्रफीका साथ नगद ५ हजार प्राप्त गरे ।
तेस्रो स्थानमा पुरुष तर्फ कैलालीका सिसिर राना र धन्यन्तरीका सत्यम कार्की रहे । महिला तर्फ दीपक ब्याडमिन्टन एकेडेमीका अस्मिता खत्री र आइबिएससीका टिशा रानी शाक्य रहे ।
विजयी खेलाडीहरूले नगद २५ सय र मेडल ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
नेपालमा योनेक्सको आधिकारिक विक्रेता इनास इन्टरप्राइजेजको आयोजनामा भएको प्रतियोगिताको यु १३ तर्फ पुरुषमा आर्मीका सुदेश राजकोटी र महिला तर्फ मोहन भूगोल ब्याडमिन्टन फाउन्डेसनका निभा राईले उपाधि सहित नगद १० हजार प्राप्त गरे । सुदेशले स्पोर्टस् हवका सदीप राईलाई २१—१६, २१—१३ ले र निभाले कास्कीकी रक्षा फागामीलाई २१—१९, २१—१२ ले पराजित गरेका हुन् । दोस्रो स्थानमा रहेका खेलाडीहरूले नगद ५ हजार मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । तेस्रो स्थानमा पुरुष तर्फ तनहुँका सफल भुजेल र एपिएफका आरुष सिम्खडा र महिला तर्फ आर्मीकी समृद्धि श्रेष्ठ र दीपक ब्याडमिन्टन एकेडेमीकी अस्मिता खत्री रहे । खेलाडीहरूले नगद २५ सयका साथ मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।


यस्तै यु ११ तर्फ कास्कीका सक्षम गुरुङले कपिलवस्तुका विराट बस्नेतलाई २३—२१, २१—१० ले पराजित गर्दै उपाधि सहित नगद १० हजार मेडल र प्रमाण पत्र प्राप्त गरे । उप विजयी खेलाडी बस्नेतले नगद ५ हजार प्राप्त गरे । तेस्रो स्थानमा रहेका आर्मीका दीप थिङ्ग र महाबौद्ध क्लबका आरभ शाक्य रहे । तेस्रो हुने खेलाडीहरूले नगद २५ सय सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।
विजयी खेलाडीहरूलाई बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव  सूर्यलाल भण्डारी, राखेप पूर्व बोर्ड सदस्य सुभाष श्रेष्ठ, नेपाल ब्याडमिन्टन सङ्घका कोषाध्यक्ष तिलक पाण्डे, नेपाल एपिएफ क्लबका एस.पी. सुधीर सुवेदी, ब्याडमिन्टन प्रशिक्षक किरण थापा, बागमती प्रदेश ब्याडमिन्टन सङ्घका संयोजक रुद्र थिङ्ग, समाजसेवी नारायण सापकोटा, लोकान्तर डट. कमका चिफ इडिटर विमल गौतम लगायतले पुरस्कार वितरण गरेका थिए ।
यस्तै ईनासका प्रोप्राइटर राजु बास्तोलाले खेलाडीहरूलाई योनेक्सको विभिन्न सामग्री जस्तै ¥याकेट, ब्याग, टिसर्ट र खेल सामाग्री प्रदान गरेका थिए ।
प्रतियोगिताको ब्राण्डिङ्ग र ब्यवस्थापन खेतान स्पोर्टस् फाउन्डेसनले गरेको थियो । फाउन्डेसनले बच्चाहरूलाई ध्यानमा राखेर कार्टुनमा ब्रान्डिङ्ग गरेको थियो ।

Comment