बागमती टिम च्याम्पियन

बागमती प्रदेशले चौथो राष्ट्रिय खुला वादोरियो कराते प्रतियोगिताको उपाधि शनिवार जितेको छ । १२ स्पर्धा समावेश प्रतियोगितामा बागमती सर्वाधिक १० स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बन्यो । बागमतीले २ रजत र १ कांस्य पनि जित्यो ।

नेपाल वादोरियो कराते डो सङ्घद्वारा आयोजित प्रतियोगितामा १ स्वर्ण, ३ रजत र ३ कांस्यसहित कोसी प्रदेश दोस्रो भयो । तेस्रो स्थानको मधेस प्रदेशले १ स्वर्ण र ५ कांस्य हात पा¥यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ८ हजार र ७ हजार नगद पुरस्कार हात पारे ।

वसुन्धरास्थित यति पार्टी प्यालेसमा भएको प्रतियोगिताको पुरुषमा बागमतीका डेभिडकुमार श्रेष्ठ र महिलामा कोसीकी सन्जिता लेप्चा उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही ३ हजार नगद पुरस्कार पाए ।

प्रतियोगिताको अन्तिम दिन ६ स्वर्णका लागि प्रतिस्पर्धामा भएकोमा सबै स्वर्ण बागमती प्रदेशका खेलाडीले  जिते । पुरुष ५५ केजीमा डेभिडकुमार श्रेष्ठ, ६० केजीमा सुविन्द्र घिसिङ, ६५ केजीमाथि पासाङ ग्याल्जेन र ५० केजीमा समीर घलानले स्वर्ण जिते । महिला ५५ केजीमा दिया पहरी तथा ६० केजीमाथि टीकामाया जिमीले पहिलो स्थान हात पारे ।

विजेतालाई प्रदेश खेलकुद परिषद्, लुम्बिनीका सदस्य–सचिव जयप्रकाश भट्टराई, नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ, आयोजक सङ्घका अध्यक्ष हरिशरण केसीलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । सो अवसरमा नेपाल कराते महासङ्घको आयोजनामा भएको सातौँ दक्षिण एसियाली करातेका स्वर्ण विजेता एलोन श्रेष्ठ र सुस्मिता वाइबा तथा रजत विजेता उर्सला पहरीलाई प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । प्रतियोगितामा समावेश बाह्रै स्पर्धाका पदक विजेतालाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो ।

Comment