प्रिन्स र रसिलालाई ब्याडमिन्टन उपाधि 

एपिएफका प्रिन्स दाहाल र त्रिभुवन आर्मीकी रसिला महर्जन प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०८० को उपाधि हात पार्न सफल भएका छन् ।

स्पोर्टस् हबको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकल तर्फ प्रिन्सले आर्मीका प्रफुल महर्जनलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । पहिलो सेट २१–१६ ले जितेका प्रिन्सले दोस्रो सेटमा पनि प्रफुललाई २१–१६ मा नै रोक्दै उपाधिलाई आफ्नो नाममा लेखाउन सफल भए । एपिएफका देव राज राना र नेपाल पुलिसका विष्णु कटुवालले तेस्रो स्थानमा चित्त बुझाए ।

यस्तै महिला एकल तर्फ रसिलाले आफ्नै क्लबकी अनुमाया राई माथि सहज जित निकाल्दै उपाधि उचालिन् । पहिलो सेटमा अनुलाई २१–३ ले हराएकी रसिलाले दोस्रो सेट २१–१४ ले पराजित गरेकी हुन् । आर्मीकी अमिता गिरी र कस्तुरी कलेजकी सीमा राजवंशी संयुक्त तेस्रो भए ।

बौद्ध लाखेपोखरीस्थित आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगिताको स्थानीय तर्फ आयोजक स्पोर्टस् हबका अनुज तामाङ र सुमित थोकरले जित हात पारे । अनुज र सुमितको जोडीले स्पोर्टस् हवकै अनीश गुरुङ र रमेश ठकुरीको जोडीलाई १८–२१, २१–११, २१–१३ ले पराजित गर्दै प्रथम स्थान हात पार्न सफल भएका थिए । तेस्रो स्थानमा ध्रुव खत्री र लाक्पा तामाङको जोडी तथा अश्मिल शाही र लाक्पा शेर्पाको जोडी संयुक्त तेस्रो भए ।

पुरुष शीर्ष २० वरीयता बाहेकको युगल तर्फ आयोजकका अभिषेक गुरुङ र निश्चल खत्रीको जोडी तथा कास्कीका विधान अधिकारी र आर्मीका पविन लिनथेप बिच भएको प्रतिस्पर्धामा अधिकारी र लिनथेपको जोडीले २१–१४, २१–१९ को जित निकाल्दै उपाधि उचाले । तेस्रो स्थानमा एपिएफका भोज बहादुर गुरुङ र सन्तोष पनेरुको जोडी तथा विवेक कन्दङवा र नेल्सन राईको जोडी संयुक्त तेस्रो भए ।

भेट्रान्स ३५ वर्ष माथिको खेलमा कास्कीका विशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडीले उपाधि उचाले । खड्का र महर्जनको जोडीले आयोजकका आकाश छन्त्याल र आङ्ग कुसाङ्ग शेर्पाको जोडीलाई २१–११, २१–१४ ले पराजित गर्दै उपाधि प्राप्त गरेका हुन् । तेस्रो स्थानमा चितवनका विद्वान गुरुङ र अमर रायमाझीको जोडी तथा पिस फिटनेस सेन्टरका सञ्जय कपाली र अनिल थाम्सुहाङ्गको जोडी रहे ।

४५ वर्ष माथिको प्रतिस्पर्धामा चन्द्रागिरि ब्याडमिन्टन क्लबका हरि खत्री र राजकुमार पोखरेलको जोडीले पिस फिटनेस सेन्टरका सञ्जय कपाली र अनिल थाम्सुहाङ्गको जोडी माथि जित निकाल्दै उपाधि हात पारे । खत्री र पोखरेलको जोडीले कपाली र थाम्सुहाङ्गको जोडी माथि २१–१४, २१–१८ को जित निकालेका हुन् । गण्डकीका तिलक छन्त्याल र हिरा रोका तथा एपिएफका धिरेन्द्र चन्द र टोखाका टिका थापा मगरको जोडी संयुक्त तेस्रो भए ।

विजयी खेलाडीलाई पूर्व मन्त्री पम्फा भुसालले पुरस्कार वितरण गरेकी थिइन् । 

करिब २५ लाखको लागत रहेको प्रतियोगितामा विजेता, उपबिजाते एवं तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरूले  ४५ हजार, २५ हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।

वरीयता सहितको राष्ट्रिय प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (शीर्ष २० वरीयता बाहेक), स्थानीय स्तर, मास्टर्स युगल ३५ वर्ष माथि र ४५ वर्ष माथि गरी ६ विधामा प्रतिस्पर्धा भएको थियो ।

Comment