माघ दोस्रो साता नेपालगन्जमा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता

बाँके जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा ११ देखि १३ माघसम्म नेपालगन्जको कभर्डहलमा प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा पाँच स्पर्धाको भिडन्त हुने जानकारी गराइयो । पुरुष एकल, महिला एकल, पुरुष युगल ,पुरुष युगल बी तथा ४५ वर्ष भन्दा माथिको भेट्रान्स स्पर्धाका खेल हुने छ । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अम्पायरहरूले सञ्चालन गर्ने सो प्रतियोगितामा देशभरिका १ सय ५० खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ । लुम्बिनी प्रदेश खेलकुद विकास परिषद् मुख्य प्रवर्द्धक रहेको सो प्रतियोगिता आयोजनाका लागि विभिन्न व्यक्ति तथा संस्थाले समेत सहयोग गरेका छन् । 

लुम्बिनी प्रदेशले नै नेपाली ब्याडमिन्टनमा भिन्न र पृथक् पहिचान बोकेको छ । साथै सो प्रदेशमा ब्याडमिन्टन अत्यन्त लोकप्रिय समेत छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माउन सफल बाँकेका १८ पुरुष तथा ४ महिला खेलाडीले अन्तर्राष्ट्रिय तहमा सहभागिात जनाइ सकेका छन् । राष्ट्रिय स्तरमा च्याम्पियन हुने खेलाडी जन्माइ सकेको बाँकेका खेलाडीले १० औ दक्षिण एसियाली ब्याडमिन्टन प्रतियोगितामा कांस्य पदक समेत जिती सकेका छन् । 

लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जय प्रकाश भट्टराईले लुम्बिनी प्रदेशमा सबै भन्दा धेरै प्रतियोगिता सञ्चालन हुने ब्याडमिन्टनको राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्न पाउँदा गौरवको अनुभव भएको बताए । उनले राष्ट्रिय स्तरमा प्रतिभाशाली खेलाडी जन्माउन तथा लुम्बिनी प्रदेशको ब्याडमिन्टन खेलमा पृथक् पहिचान बनाउन प्रतियोगिता सहयोगी हुने विश्वास व्यक्त गरे । 

Comment