‘कराते महासङ्घ सही बाटोमा छ,’ शेर्पा

श्याम शेर्पा नेपाल कराते महासङ्घका उपाध्यक्ष । करातेमा लामो आरोह अवरोह पार गरेका शेर्पा नेपाल सोतोकान कराते सङ्घका प्रमुख प्रशिक्षक तथा महासचिव हुन् ।  नेपाली करातेको वर्तमान अवस्थाबारे तीनै शेर्पासँग गरिएको कुराकानीको सार संक्षेप 

अहिले पछिल्लो समय करातेमा सबै समस्या समाधान भएका हुन् या बाँकी छ ?

करातेमा कुनै समस्या अहिले छैन । विगतमा विवादमा रहेका दुई महासङ्घ अहिले एक भएका छन् । दक्षिण एसियाली च्याम्पियनसिप पनि सफलतापूर्वक सम्पन्न गरेका छौ । हामी अहिले एकजुट छौ । 

सबै साना सङ्घहरू अहिले समेटिएका छन् ? या छैनन् ?

महासङ्घ र वादोरियो भन्दा बाहेक अन्य धेरैको निर्वाचन भएका छैनन् । महासङ्घ आफ्नो स्थानमा सही छ । यसमा केही समस्या भएमा महासङ्घले नै समाधान गर्ने छ । 

कराते खेल पूर्ण अनुशासित खेल भएको हो ? 

अहिले पूर्ण अनुशासित भई सकेको छ । यस खेलमा कुनै खालका  खेल भावना विपरीतका गतिविधि हुने छैनन् भन्ने कुरामा म विश्वास दिलाउन चाहन्छु । 

दिवस श्रेष्ठ पछि नेपाली करातेमा सोतोकानको प्रभाव कम भएको हो ? 

त्यसो होइन । एसियाडमा हाम्रो खेलाडी नपरेको साँचो हो । भर्खरै सम्पन्न भएको दक्षिण एसियाली कराते च्याम्पियनसिपमा पनि हाम्रा खेलाडीको उल्लेख्य उपस्थिति थियो । उनीहरूले पदक पनि जितेका थिए । हाम्रो गतिविधिले निरन्तर राम्रा खेलाडी उत्पादन भई रहेका छन् । 

नेपाल सोतोकोन कराते सङ्घ ३२ औ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागिता जनाउन बुधवार भारतको कलकत्ता तर्फ जाँदै छ । यो कुरा मैले किन भन्ने खोजेको हो भने प्रतियोगिता आयोजना, प्रशिक्षण र अन्तर्राष्ट्रिय प्रतियोगितामा हामी निरन्तर सक्रिय छौ ।  

नेपालमा पछिल्लो समय आर्थिक अवस्था ओरालो लागेको छ । यसले कराते र सिङ्गो खेलकुदलाई असर गरेको छ या छैन ? 

यसको असर पर्नु स्वाभाविक हो । सामान्य प्रतियोगिताका लागि पनि कठिन हुनु स्वाभाविक हो । बजार नभए पछि व्यापारिक कम्पनीले खेलकुदलाई सहजै सहयोग गर्ने त कुरै भएन । यस कारण पछिल्लो समयको देशको आर्थिक अवस्था र बजारमा गतिविधि शून्य भएका कारण यसले खेलकुदलाई पनि प्रभाव पारेको छ । 

अन्त्यमा सबै कराँतेकर्मीलाई तपाईँको तर्फबाट भन्नु केही छकी ?

अहिलेसम्म दुई कराते महासङ्घका कारण धेरै असर परेको थियो । खेलाडीले अवसर गुमाइ रहेका थिए । कराते महासङ्घ एक भए पछि नेपाली कराते सही बाटोमा गएको छ । अब खेलाडीलाई मार पने छैन।  नेपाली करातेले चाँडो फड्को मार्ने छ । 

Comment