रामजी श्रेष्ठ कार्यकालको पुरस्कार खेलको मर्यादा भङ्ग, क्षेत्रीय र वर्गीय भेदभाव, आर्थिक अपारदर्शी र शक्तिको चरम दुरुपयोग

सङ्घ अध्यक्ष रामजी बहादुर श्रेष्ठ र १३ औ सागमा विवादमा आएका लवभक्त श्रेष्ठ

नेपाली ब्याडमिन्टनमा अध्यक्ष राम जी बहादुर श्रेष्ठ,पूर्व महासचिव तथा तदर्थ कमिटीका सदस्य वीरेन्द्र श्रेष्ठ, पूर्व सचिव तथा तदर्थ कमिटीका सदस्य नवीन विक्रम शाह तथा सदस्य दीपक थापाको कारण सो खेल बरबाद भएको र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपालको बेइज्जती भएको आरोप धेरै खेलकर्मीको रहेको छ । 

लामो समय देखि सङ्घ सही ढङ्गले चल्न नसके पछि उनीहरूकै पहलमा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली ब्याडमिन्टनको विवाद छताछुल्ल हुने गरी श्रेष्ठ समूह उत्रिएको हो । परन्तु नेपाली ब्याडमिन्टनको गलत गतिविधि अन्तर्राष्ट्रिय क्षेत्रमा पुगेमा श्रेष्ठको गलत नेतृत्वको झन् पर्दाफास हुने सरोकार वाला बताउँछन् । 

नेपालमा २०७२ सालमा महाभूकम्प गएको समयमा तत्कालीन महासचिव रमेश श्रेष्ठको पहलमा विश्व ब्याडमिन्टन महासङ्घ(विडब्लुएफ) ले ५० हजार अमेरिकी डलर सहयोग गरेको थियो । सो रकम पारदर्शी नभएको आरोप सर्वत्र छ । रमेश अध्यक्ष हटे पछि रामजी श्रेष्ठ अध्यक्ष भएका थिए । यसको खर्च गर्ने समयमा रामजी नै अध्यक्ष थिए । 

सटल टाइम परियोजना नेपालमा आए पनि तत्कालीन सङ्घका सचिव ज्ञानेन्द्र सिपाही सोही परियोजनाको नाममा विदेश गएर उतै लुके पछि परियोजना नेपालले गुमाएको थियो । 

धेरै मोफसलमा खेलाडीले आफू माथि भेदभाव रहेको गुनासो गरेका छन् । यसरी गुनासो गर्नेहरू सबै भन्दा सुदूर पश्चिमका रहेका छन् । सुदूर पश्चिमको कैलाली जिल्ला नेपाली ब्याडमिन्टनको शक्ति केन्द्र भएकै समयमा पनि काठमाडौं केन्द्रित नेतृत्वले सबै भेदभाव गरेको आरोप र गुनासो विगत देखि नै थियो । 

महत्त्वपूर्ण प्रतियोगितामा अम्पायर राख्ने क्रममा भेदभाव रहेको आरोप सर्वत्र रहेको छ । यो गुनासो सुदूर पश्चिमकी दुर्गा भण्डारी देखि सुदूर पूर्वकी पुष्पा घिमिरेसम्मको हो । 

ब्याडमिन्टन सङ्घ आफैले राष्ट्रिय च्याम्पियनसिपको आयोजना गर्ने गरेको छैन । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितामा भेदभाव गरेको आरोप सर्वत्र छ  । 

प्रीन्स दाहाल विश्व बरीयताको जुनियर तर्फ पहिलो क्रममा रहेको समयमा सङ्घका सदस्य दीपक थापाले खेलाडी कै रूपमा स्वीकीर्ती पदक लिएका थिए । यसमा ब्याडमिन्टन सङ्घको सिफारिस त थिएन । तथापि संस्थापन पक्षको निकट थापाको यो गतिविधिका कारण ब्याडमिन्टन सङ्घमा विद्रोहको भाव जाग्नु स्वाभाविक थियो । 

तीन वर्ष अघि भएको युएस इन्टरनेसनल च्यालेन्ज ब्याडमिन्टन बदनामीको अर्को पाटो थियो । सो समयमा अमेरिका गएका ब्याडमिन्टन सङ्घ सरोकार नभएका इन्द्र कार्की अझै उतै छन् । सो समयमा संघले कार्कीलाई मेनेजर तथा कर्मचारी समेत रहेका तत्कालीन उप महासचिव लव भक्त श्रेष्ठलाई प्रशिक्षक बनाएको थियो । श्रेष्ठ प्रशिक्षक होइनन् भने कार्की ब्याडमिन्टनमा कुनै सरोकार नभएका व्यक्ति हुन् । प्रतियोगितामा खेलाडी साजन कृष्ण ताम्रकार निजी खर्चमा गएका थिए भने कार्की र श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद्को खर्चमा गएका थिए । 

श्रेष्ठलाई गएको १३ औ दक्षिण एसियाली खेलकुदमा जुत्ता खरिदको आरोप समेत लागेको थियो । तत्कालीन समयमा राखेप सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा गठित समितिले उनलाई दोषी ठहर गरेको थियो । तथापि अहिले श्रेष्ठ सङ्घको तदर्थ समितिमा छन् ।

विदेश जाने खेलाडीलाई समेत भेदभावको क्रम जारी नै रहेको थियो । अन्य खेलाडी विदेश गए पनि नेपालको वरीयता क्रममा यथावतै राखिए पनि सङ्घ नेतृत्वको गलत कार्यमा आवाज उठाउने सञ्जीव खड्काको भने तत्काल नाम हटाइएको थियो । जब की अध्ययनको सिलसिलामा अस्ट्रेलिया गएका सञ्जीव त्यहाँ पनि ब्याडमिन्टन खेलमा सक्रिय छन् ।  

यी अनेकन कारणले गर्दा ब्याडमिन्टनकर्मी सङ्घ नेतृत्वको विरुद्धमा थिए । सबै खेलकर्मी नेतृत्वको विरुद्धमा रहे पनि तदर्थ समितिका अध्यक्ष श्रेष्ठको पदीय लोलुपताले सीमा नाघेको नाम नबताउने सर्तमा सुदूर पश्चिमका एक खेलाडी बताउँछन् । 

यसरी खेलाडीको माझमा अलोकप्रिय रहेका उनले जिल्ला र प्रदेशमा ब्याडमिन्टनकर्मीकै भेलामा आफू अनुकूल प्रतिनिधि आउने कुनै सम्भावना नभए पछि अन्य बाटो रोजेका थिए । खेलकुदको ऐन र मान्यतालाई मिच्दै उनले जबरजस्ती जिल्लाका अधिवेशन र प्रदेश अधिवेशन बिना नै काठमाडौँमा बसेर आफू अनुकूल प्रदेश सङ्घ गठन गर्ने तथा त्यहाँ औपचारिकता पुरा गर्ने काम गरेका थिए । तल्लो तह देखि नै अधिवेशन नभए पछि यस गलत कार्यलाई कोसी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव हंसराज वाग्ले, बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्य भण्डारी, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जय प्रकाश भट्टराई,गण्डकी प्रदेशका सदस्य सचिव श्रीधर प्रसाद शर्मा र सुदूर पश्चिम प्रदेश परिषद्का सदस्य सचिव दीपक सिंहले स्वीकार गरेनन् । उनीहरू सो गलत कार्यको विरुद्धमा सशक्त मोर्चा बन्दीमै उत्रिए । 

२८ भदौमा निर्धारित भेलाले अर्को तीन महिनामा साधारण सभाको घोषणा गरे पनि राखेपले अर्को ४५ दिने म्याद दिएको थियो । सो म्याद गुज्रनै लाग्दा पनि वैधानिक प्रक्रिया पुरा नभए पछि १४ कात्तिकमा अवैध साधारण सभा गरेको थियो । सङ्घका पूर्व उपाध्यक्ष तथा हालका तदर्थ समितिका सदस्य सुवास श्रेष्ठ देशभरिका ब्याडमिन्टनकर्मी यस गलत कार्यको विरुद्धमा एकमत हुनु पर्नेमा सहमत छन् । 

रामजी श्रेष्ठ कार्यकालकोको पुरस्कार खेलको मयार्दा भङ्ग, क्षेत्रीय र वर्गीय भेदभाव, आर्थिक अपारदर्शी र शक्तिको दुरुपयोगको रूपमा परिचित रहेको धेरैको ठहर छ । 

Comment