सङ्घ पूर्वाग्रही भए पनि कोटेश्वरका खेलाडीको मरेको छैन तेक्वान्दो प्रेम

दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी दाजुभाइ निर्मल र नीराजन श्रेष्ठको पहलमा कोटेश्वर तेक्वान्दो डोजाङलाई सहयोग स्वरूप बिहीबार खेल सामाग्री प्रदान गरिएको छ ।

श्रेष्ठ दाजुभाइले डोजाङका प्रमुख एवं तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई २० लाख रुपैयाँ बराबरको २ सेट प्रोटेक्टर इलेकट्रोनिक सिस्टम एक कार्यक्रमबिच हस्तान्तरण गरे । सो अवसरमा डोजाङका प्रशिक्षक, खेलाडी, तेक्वान्दोको ग्योरोगी, पुम्से र पारा अन्तर्राष्ट्रिय निर्णायक एवं नेपलिज तेक्वान्दो एकेडेमीका अध्यक्ष अशोक खड्कालगायतको उपस्थिति रहेको थियो ।

उक्त सामाग्री खरिद गर्न दाजुभाइसहित अस्ट्रेलिया बस्ने सक्षम कार्की, रञ्जन श्रेष्ठ, मनोज मल्ल, ज्ञानेन्द्र मल्ल र भुपेन श्रेष्ठ तथा मकाउ बस्ने राकेश केसीले सहयोग गरेका हुन् । सबै तेक्वान्दो खेलाडी हुन् । मुख्य प्रशिक्षक श्रेष्ठका अनुसार सहयोगी सबै कोटेश्वर तेक्वान्दो डोजाङका उत्पादन हुन् ।

निर्मल र नीराजनले पाकिस्तानमा भएको नवौँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेका थिए । दुवै विगत १८ वर्षदेखि अमेरिकाको ओरेगनमा बस्दै आएका छन् । त्यहाँ पनि उनीहरूले वान तेक्वान्दो एकेडेमी चलाउनुका साथै मुख्य गरी व्यवसायमा संलग्न छन् । उनीहरू सेभेन ११ र मार्ट सञ्चालन गर्छन् ।

दुवैले सँगै एसियाली खेलकुद (बुसान एसियाड) पनि खेलेका थिए । नीराजनसँग विश्व तेक्वान्दो च्याम्पियनसिप खेलेको अनुभव पनि छ । परिवारसहित चाड पर्वका लागि नेपाल आएका दुवै बिहीबारै अमेरिका फर्केका छन् ।

कार्यक्रममा नीराजनले नेपालकै चर्चित मध्येको एक र राष्ट्रलाई थुप्रै अन्तर्राष्ट्रिय पदक दिलाएका खेलाडी उत्पादनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको कोटेश्वर तेक्वान्दो डोजाङलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै खेलाडीको समस्यामा हरदम साथ रहने प्रतिबद्धता जनाए ।

‘म र मेरो दाइ (निर्मल) पनि कोटेश्वर तेक्वान्दो डोजाङकै खेलाडी हौँ । मेरो दाइ (नवीन) हाम्रो गुरु हो । कोटेश्वर तेक्वान्दो डोजाङको काम प्रशंसनीय छ । खेलाडी उत्पादनमा डोजाङको भूमिका तारिफ योग्य छ । त्यसैले हामी आफै र अरूसँग पनि सहयोग जुटाएर सानै भए पनि सहयोग गरौँ भनेर सामाग्री दिएका हौँ । आउने दिनमा पनि सक्दो सहयोग गर्छौ ।’ नीराजनले भने– । सन् २००६ मा भएको विश्व च्याम्पियनसिपमा सहभागिता जनाएका नीराजन नेपालको उत्कृष्ट खेलाडीको रूपमा परिचित थिए । खेल स्तरलाई आधार मान्ने धेरै तेक्वान्दो विज्ञ उनलाई सन् २००० यताको उत्कृष्ट तेक्वान्दो खेलाडीको रूपमा समेत चिन्ने गरेका छन् । 

नीराजनले खेल जीवनमा उतार चढाव आइरहने बताउँदै खेलाडीले कुनै एउटा अवसर गुमाउँदैमा निराश हुन नहुने बताउँदै निरन्तरता नै सफलताको कडी भएको बताए । उनले ओलम्पिकमा पदक जित्ने आफ्नो चाहना पूरा नभए पनि कुनै दिन कोटेश्वर तेक्वान्दो डोजाङका खेलाडीले आफ्नो अधुरो चाहना पूरा गर्नेमा आफू आशावादी रहेको बताए ।

निर्मलले आफू विदेशमा भए पनि नेपाली तेक्वान्दो र खेलाडीलाई सहयोग गर्न कहिले पछि नहट्ने प्रतिबद्धता जनाउँदै खेलाडीलाई अनुशासित र लगनशील भएर खेलमा लाग्न सुझाए ।

मुख्य प्रशिक्षक श्रेष्ठले सहयोगका लागि सबैलाई धन्यवाद दिँदै यस्ता सहयोगले डोजाङकर्मीको हौसला अभिवृद्धि गर्ने बताए ।

नेपाली तेक्वान्दोको खराब अवस्थाका कारण पछिल्लो समय बिदेसिने स्टार मध्य ए ग्रेड स्टार सक्षम सहित विश्व च्याम्पियनसिपमा सहभागिता जनाइ सकेका मनोज मल्ल लगायत छन् । 

खेलाडीको नैसर्गिक हक र अधिकार छिन्न नपाइने तथा उत्कृष्टताको आधारमा सबै निर्णय हुने पर्छ भन्ने जोडदार आवाज उठाएका कारण तेक्वान्दो नेतृत्वको कोप भाजनमा परेका मुख्य प्रशिक्षक श्रेष्ठ र कोटेश्वर तेक्वान्दोको खेल प्रतिको लगाव भने अद्यावधि कायम नै छ । 

पछिल्लो समय तेक्वान्दो नेतृत्व कोटेश्वर सहित नेपाली तेक्वान्दोमा अतुलनीय योगदान गरेका मुलपानी डोजाङ र चितवन डोजाङका खेलाडी र त्यहाँका प्रशिक्षक माथि उत्तिकै पूर्वाग्रही बन्दै आएको छ ।  नवीन सहित प्रशिक्षक हिरा थापा, अशोक खड्का, मीन न्यौपाने र पुष्प जोशी माथि चरम पूर्वाग्रही सङ्घको असर गएको एसियाली खेलकुदमा देखिएको छ । तथापि राज्य यसमा मौन छ । 

भारतमा जारी विश्व कप क्रिकेटमा खराब प्रदर्शन गरेको श्रीलङ्काले क्रिकेट बोर्डलाई बर्खास्त गरेको सम्झनेहरू तत्काल नेपाल तेक्वान्दो सङ्घ विघटनको विकल्प राज्यको सामु नरहेको जिकिर समेत गर्न थालेका छन् ।  

Comment