ब्याडमिन्टनमा विकृतिको अन्य आवश्यक खेलकर्मीको मत 

लामो समय विवादमा रहेको नेपालको ब्याडमिन्टन सङ्घको विवाद अन्तर्राष्ट्रिय तहसम्म पुगेको छ । नेपालको सम्बन्धित निकायले गत साता सम्पन्न भनिएको निर्वाचनलाई मान्यता नदिने निश्चित भए पछि तदर्थ समितिका अध्यक्ष राम जी बहादुर श्रेष्ठले ब्याडमिन्टन एसियाका प्रतिनिधालाई नेपाल बोलाएका थिए । 

प्रदेश सङ्घ गठन गर्दा प्रक्रियागत ढङ्गबाट नगरी मनोमानी गरे पछि प्रदेश खेलकुद परिषद्ले प्रदेश सङ्घलाई नै मान्यता दिएका छैनन् । तसर्थ केन्द्रीय निर्वाचन पनि अवैध हुने सरोकारवालाको मत छ । राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले ब्याडमिन्टन सङ्घको अधिवेशनलाई मान्यता दिएका छैनन् । 

नेपाली ब्याडमिन्टन लामो समय देखि क्षेत्रीय र वर्गीय भेदभावले ग्रसित छ । यसै भेदभावका बिच शक्ति केन्द्रले नचाहेको खेलाडी प्रताडित भएको गुनासो विगत देखि नै सुनिँदै आएको छ । 

काठमाडौँ उपत्यका भन्दा बाहिरका कुनै पनि ब्याडमिन्टन कर्मीका लागि राम जी श्रेष्ठको नेतृत्व स्विकार्न कठिन छ । यो भेदभाव वर्षौँ देखि खेलाडी, रेफ्री र प्रशिक्षकसम्म छ । 

राम जी श्रेष्ठले पूर्व खेलाडीको नाममा आफूलाई लायक अध्यक्षको रूपमा व्याख्या गरी रहँदा कुनै समयका नेपाली ब्याडमिन्टनका स्टार प्रताप अधिकारी र नरेश बहादुर सिंह लगायतले यो सङ्घलाई स्वीकार गर्न सकेका छैनन् ।  

भूकम्प पीडितको नाममा आएको रकम पारदर्शी नभएपछि यो नेतृत्व मानवीय संवेदना रहित भएको २०७२ सालमा नै प्रस्ट भएको थियो । २०७२ सालको भूकम्प पछि तत्कालीन नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रमेश श्रेष्ठको पहलमा विश्व ब्याडमिन्टनबाट नेपालमा सहयोग भए पनि रामजी श्रेष्ठ अध्यक्ष भएपछि त्यसको समेत सही उपयोग हुन सकेको थिएन । सङ्घको सचिव नै सोही कार्यक्रममा विदेश पलायन भएका कारण विगतमा नेपालले पाएको सटल टाइम परियोजना नेपालबाट हटेको थियो । 

अनेकौँ विकृति र विसङ्गतिका कारण ब्याडमिन्टनकर्मी वर्तमान नेतृत्वको विरुद्धमा रहे पछि तदर्थ समितिका अध्यक्ष श्रेष्ठले सम्बन्धित खेलकर्मीलाई वाई पास गर्दै विधान र राष्ट्रिय खेलकुद ऐनलाई समेत मिचेर आफू अनुकूल प्रतिनिधि ल्याउने प्रयास गरे पछि प्रदेश खेलकुद परिषद्का सदस्य सचिवहरूले यसलाई रोकेका हुन् । 

अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडी छनोटमा समेत श्रेष्ठ नेतृत्व अपारदर्शी रहँदै आएको छ । तसर्थ नेपाली ब्याडमिन्टनको यो विकृतिको विरुद्धमा रहन नेपाल र विदेशमा रहेका सबै ब्याडमिन्टन कर्मी एकजुट हुन आवश्यक रहेको तथा वैधानिक रूपले ब्याडमिन्टन खेलको नेतृत्व ब्याडमिन्टनकर्मीकै प्रक्रियागत निर्वाचनले सुधारको बाटो आवश्यक रहेको धेरैको मत छ । 

Comment