प्रतिभाशाली डा. प्रसाईँको अर्को फड्को 

गीतकार समेत रहेका नेपाल कराते महासङ्घका केन्द्रीय उपाध्यक्ष डा.ओम कृष्ण प्रसाईँले अस्ट्रेलियाको सिड्नीमा विश्वकपको स्वर्णपदक जितेका छन् । स्पोर्ट्स कराते सङ्घको आयोजनामा अस्ट्रेलियाको सिड्नीमा २० देखि २२ अक्टोबरसम्म सञ्चालन भएको प्रतियोगितामा नेपालको तर्फबाट प्रसाईँले स्वर्ण पदक हात पारेको हो।

विभिन्न चरण पार गर्दै डा. प्रसाईँले आफ्नो विधा कुबुदो तर्फ स्वर्ण पदक हात पारेका हुन् । ऐतिहासिक पदक प्राप्त गरेपछि निकै उत्साहित हुँदै उनले मुलुकको पदक भित्र्याउन पाउँदा गर्व महसुस गरेको बताए ।

सो प्रतियोगिताको उद्घाटन सत्रमा अस्ट्रेलिया स्थित लिभरपुल सिटिका मेयर नेट मननले नेपाली खेलाडीहरूले उच्च प्रदर्शन गरेको समेत आफ्नो मन्तव्य क्रममा उच्च प्रशंसा व्यक्त गरेका थिए ।

विश्वभरका करिब ४१ राष्ट्रका सम्मीलित प्रतियोगितामा मार्सल आर्ट्सका १७ विधा समावेश गरिएको थियो ।

सो प्रतियोगितामा १२सयको सङ्ख्यामा खेलाडी सहभागी भएका थिए। ४७ वर्षीय डा.प्रसाईँले सन् २००६ मा पनि साउथ अफ्रिकाको केप टाउनमा भएको विश्व च्याम्पियनसिपमा यसै विधामा कास्य पदक प्राप्त गरेका थिए ।

बहु प्रतिभाका धनी उनको पछिल्लो समय नेपाली साङ्गीतिक क्षेत्रमा गीत लेखनमा समेत सक्रिय बढेको छ।केही दिन अघि मात्रै डा.प्रसाईँको शब्द जसमा रचना रिमाल,राजेश पायल राई, समीक्षा अधिकारीको स्वरमा रहेको गीत सार्वजनिक भएको छ ।

Comment