खेलाडी माथिको पूर्वाग्रह, कानुनलाई नटेर्ने र एसियाड तयारीमा भेदभाव गर्ने तेक्वान्दो सङ्घ प्रति परिषद्को मौनता

कोरियन एम्बसडरमा काठमाडौँ देखि चितवनसम्म पूर्वाग्रह

 प्रशिक्षक माथि पूर्वाग्रही हुँदै सीमित व्यक्तिको घेराबन्दीमा चलेको नेपाल तेब्वान्दो सङ्घको पूर्वाग्रहको सिकार खेलाडी पनि बनेका छन् । 

११ औँ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२३ खेल्नका लागि नाम दर्ता नगरिदिएको भन्दै तेक्वान्दो खेलाडीहरूले नेपाल तेक्वान्दो सङ्घसँग न्यायिक लडाई लड्ने चेतावनी दिएका छन् । कोरियन एम्बेसडर तेक्वान्दो च्याम्पियनसिपमा नाम दर्ता गर्नबाट वञ्चित गराएका खेलाडीहरूले सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरी नेपाल तेक्वान्दो सङ्घसँग न्यायिक लडाई लड्ने चेतावनी दिएका हुन् ।

हाल सम्मकै उच्च शुल्क तिरेर आफूहरूले कोरियन एम्बेसडरमा नाम दर्ता गराउन पहल गरे पनि संघले विभिन्न बहानामा ४० भन्दा बढी खेलाडीको नाम नै दर्ता नगरी फर्काइएको तेक्वान्दो खेलाडीले आरोप लगाएका छन् । संघले विना कारण आफूहरूको नाम दर्ता नै नगरी फिर्ता पठाएपछि यस बारेमा इमेलमार्फत तेक्वान्दो सङ्घसँग प्रतिक्रिया माग्दा त्यसको कुनै सुनुवाइ नभएपछि बाध्य भएर पत्रकार सम्मेलन गर्नु परेको पीडित खेलाडीहरूले बताएका छन् ।

११ औँ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको आयोजकले पहिलो पटक जारी गरेको सूचना अनुसार १८ भदासम्म खेलाडी दर्ता गर्न सकिने थियो । ३१ साउन मा  नयाँ सूचना जारी गर्दै भदौ ४ गतेसम्म खेलाडीले नाम दर्ता गरिसक्नुपर्ने जानकारी गराएको थियो । खेलाडीहरू संघले पछिल्लो पटक तोकेको मितिमै तेक्वान्दो सङ्घमा नाम दर्ता गर्न गए पनि विभिन्न बहाना बनाएर नाम दर्ता गर्न नदिएको उनीहरूले आरोप समेत लगाएका छन् ।

तेक्वान्दो संघले भदौ १० गते ११ औँ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२३ खेल्ने खेलाडीहरूको नाम सार्वजनिक गरेको थियो । संघले सार्वजनिक गरेको सूचीमा आफूहरूको नाम समावेश नभएको समेत उनीहरूले बताएका छन् । त्यसपछि उनीहरूले भदौ १० गतेको सूचनाको आधारमा १७ भदौमा  नेपाल तेक्वान्दो सङ्घ र अध्यक्ष प्रकाश शमशेर राणालाई हस्ताक्षरसहित पत्र पठाएको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै कोटेश्वर डोजाङ्गका खेलाडी एलिस ठकुरीले नेपाल तेक्वान्दो सङ्घका केही पदाधिकारीहरूको आन्तरिक विवादका कारण खेलाडीलाई खेल्नबाट वञ्चित गरिएको खुलासा गरेका छन् । त्यस्तै ठकुरीले सङ्घ सबै खेलाडीको साझा थलो भएकोले सबै खेलाडीलाई समान व्यवहारका साथ खेल्न दिनुपर्ने बताए।

पछिल्लो समय तेक्वान्दो सङ्घको मनपरीमा राष्ट्रिय खेलकुद परिषद् पनि मौन छ । नेपालमा तेक्वान्दोको विवादको सुरुवात वीर बहादुर महराको नाममा रहेको ओलम्पिक स्कलरसिप प्रोग्राम बापतको रकम उनलाई संघले नदिए पछि मुख्य प्रशिक्षक नवीन कुमार श्रेष्ठले आवाज उठाएका थिए । 

यस लगत्तै मुख्य प्रशिक्षक श्रेष्ठ माथि पूर्वाग्रही बनेको संघले उनी आबद्ध कोटेश्वर तेक्वान्दो डोजाङका खेलाडीहरू प्रति पनि पूर्वाग्रही बनेको हो । कोटेश्वर डोजाङ नेपाली खेलकुदमा सबै भन्दा पायनीयर डोजाङ हो । सूचना श्रोतका अनुसार मुख्य प्रशिक्षक नवीनसँग निकट सम्बन्ध रहेका प्रशिक्षकले चलाएका हरेक डोजाङ प्रति सङ्घ पूर्वाग्रही छ । 

न्यायालयको आदेशलाई अटेर गर्ने संघले जबरजस्ती काठमाडौँ जिल्ला सङ्घको अधिवेशन गराएको  थियो । यस पछि संघले जबरजस्ती हटाएको घोषणा गरिएका अशोक खड्का निकट डोजाङ प्रति पनि सङ्घ पूर्वाग्रही छ । चितवनका केही डोजाङ प्रति पनि सङ्घ पूर्वाग्रही छ । 

काठमाडौँमा भएको १३ औ दक्षिण एसियाली खेलकुदमा नेपाली तेक्वान्दोलाई उत्कृष्ट परिणाम दिलाए पनि सबै प्रशिक्षक प्रति पूर्वाग्रही संघले आफू निकट व्यक्तिलाई जिम्मेवारी दिँदै राष्ट्रिय टोलीका खेलाडीको भविष्य माथि खेलबाड गरेको छ । 

राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभाग समेत यसमा मौन छ । 

Comment