हक्कीको गतिहीन यात्रामा थप अर्को औपचारिकता

नेपाल हक्की सङ्घको दोस्रो केन्द्रीय महाधिवेशनले अनिलप्रसाद शर्माको नेतृत्वमा १६ सदस्यीय केन्द्रीय कार्यसमिति शनिवार निर्विरोध चयन गरेको छ । यसअघि शर्मा सङ्घको कार्यवाहक अध्यक्ष थिए ।

मनीष झा, राजेन्द्रप्रसाद श्रेष्ठ, हिमाल खड्का र भगवती खड्काले उपाध्यक्ष, सुवर्ण श्रेष्ठले महासचिव, असिम शर्माले सचिव र रामेश्वर घिमिरेले कोषाध्यक्षको जिम्मेवारी पाए । कान्तुराम पनेरु, बाबुराम साह, निजामुद्दिन सिद्धिकी, अन्जु प्रधान श्रेष्ठ, पवन केसी, सावित्री रजाली, मिलन केसी र हित गुरुङ सदस्यमा चयन भए ।

नवनिर्वाचित पदाधिकारीहरूलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत मीनकुमार शर्माले एक कार्यक्रमबिच पद तथा गोपनीयताको शपथ ग्रहण गराए । यसअघि महाधिवेशनको परराष्ट्र मन्त्री एनपी साउदले उद्घाटन गरेका थिए ।

 नेपालमा हक्की खेल कम लोकप्रिय खेलको रूपमा रहेको छ । वर्षौँ देखि सामान्य प्रशासनिक काममा समेत असक्षम हककी संघले लामो समय देखि उमेश लाल श्रेष्ठलाई अध्यक्षको रूपमा स्वीकार गरेको थियो । त्यसै सङ्घमा शर्मा वरिष्ठ उपाध्यक्ष थिए । शर्माको कार्यकाललाई सकारात्मक हुने आशय धेरै हक्की सङ्घका प्रतिनिधिले गरे पनि नेपाली हक्कीको गतिहीन लामो यात्रामा शर्मा नै वरिष्ठ उपाध्यक्ष भएका कारण उनीबाट खासै आशा गर्न सकिने आधार भने छैन । आफ्नो कार्यालय समेत स्थापना गर्न नसक्ने वार्षिक रूपमा हिसाब राख्न नसक्ने, नियमित साधारण सभा गरेर अडिट रिपोर्ट पेस गर्न नसक्ने र आवश्यक  केही काम पनि गर्न नसक्ने श्रेष्ठ नेतृत्वको सङ्घमा शर्मा उपाध्यक्ष थिए । साधारण सभामा लामो समय देखि नेपाली हक्कीमा योगदान गरेका अशोक पाण्डे लगायतको अनुपस्थिति अर्थपूर्ण थियो । अन्य नेपाली खेल सङ्घको नेतृत्व जस्तै केही अभिजात वर्गको हालीमुहाली हुने गरी नयाँ कार्यसमिति चुन्ने कर्मकाण्डी काम हक्कीको अधिवेशनले गरेको छ । 
असफल श्रेष्ठ नेतृत्वको संघंकै जिम्मेवार व्यक्ति अध्यक्ष हुद्दैमा कुनै परिवर्तनको सम्भावनालाई केही हकीकर्मीले बेतुकको तर्क मानिएको छ । 

Comment