उसु टोलीको बिदाइ 

मित्र राष्ट्र चीनको होङझाओ सहरमा हुने १९ औँ एसियन खेलकुद प्रतियोगिताको तयारीको लागि प्रशिक्षणका लागि त्यस तर्फ प्रस्थान गरेको १५ सदस्यीय उसु टोलीलाई नेपाल उसु महासङ्घले सोमबार बिदाइ गरेको छ । कार्यक्रममा नेपाल उसु महासङ्घका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य जनक प्रसाद बर्तौला, वरिष्ठ उपाध्यक्ष शैलेश कर्माचार्य, महासचिव नवराज ढुङ्गाना, उप महासचिव राजीव महर्जन, सचिव नवीन बस्नेत र  कोषाध्यक्ष शंकर भुजेल लगायत महासङ्घका सदस्यहरू तथा प्रशिक्षकहरूको सहभागितामा बिदाइ कार्यक्रम सम्पन्न भयो । 

चीनको हुझाउ सहरमा रहेको क्वीनक्वान मार्सल आर्ट स्कुलमा २२ दिन सम्म तयारी प्रशिक्षण गरी उसु टिम एसियन खेलकुदमा सहभागी हुने कुरा टिम व्यवस्थापक तथा नेपाल उसु महासङ्घका महासचिव नवराज ढुङ्गाना (विश्वास) ले जानकारी दिए । 

कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष शैलेश कर्माचार्य तथा उप–महासचिव राजीव महर्जनले खेलाडी तथा प्रशिक्षक लाई शुभकामना प्रदान गरे । 

सहभागी खेलाडीहरूमा थाउलोतर्फ विजय सिन्जाली, दीपक हमाल, पासाङ शेर्पा, निमा घर्तिमगर, सविता राई, कविता थापा मगर र सुस्मिता तामाङ रहेका छन् ।

त्यस्तै सान्दातर्फ पदम राई, मङ्गलप्रसाद थारु, समन घुस्री, रोहित चुनारो र एलिना चौधरी रहेका छन् । यसै गरी मुख्य प्रशिक्षकमा अमर कुमार थिङ्ग र अन्य दुई प्रशिक्षकमा प्रकाशबहादुर लामा (थाउलो) र गणेश अर्याल (सान्दा) छन् ।

टोलीसँगै व्यवस्थापक ढुङ्गाना पनि चिन जाँदै छन् । 

Comment