खेलकर्मी नेतृत्वको विरोधी भए पछि काठमाडौँमा बसेर प्रदेश सङ्घको चाँजोपाँजो मिलाउँदै , भेलाको हिम्मत छैन केन्द्रीय सङ्घको 

 माइन्युट छैन, त्यत्तिकै निर्णय

नेपाल ब्याडमिन्टन सङ्घको  तानासाही कार्यशैलीले बढवा पाएको छ ।  नेपाल ब्याडमिन्टन संघले हालै लुम्बिनी र गण्डकी प्रदेश ब्याडमिन्टनको तदर्थ समिति गठन गरेको छ । खेलकुद ऐन र खेलकुदको प्रचलित मान्यता अनुसार जिल्ला भेलाले अधिवेशन गर्ने प्रचलन भए पनि रुपन्देहीमा १६ जनाको बैठकले महेन्द्र कुमार श्रेष्ठको संयोजकत्वमा १६ सदस्सीय तदर्थ प्रदेश समिति गठन गरेको छ । सबै भन्दा आश्चर्य त त्यस भेला गर्ने केन्द्रीय सङ्घको माइन्युट नै छैन । आठ वर्ष देखिको माइन्युट हराएको छ । निश्चित व्यक्ति मात्र काठमाडौँमा बसेर सबै प्रदेशको चाँजोपाँजो मिलाउने र औपचारिकताका लागि मोफसलमा पुग्ने गरेका छन् । ४१ सदस्सीय तदर्थ कमिटी मध्ये धेरैलाई केन्द्रीय समितिको कामका बारे थाहा नै हुँदैन । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्क लाल घिसिङ सहितको सल्लाहमा सबै कुरा काठमाडौँमा बसेर मिलाइने तथा मोफसलमा पुगेर सीमित व्यक्तिलाई बोलाएर तदर्थ कमिटीको औपचारिकता पुरा गर्ने गरिएको छ । 

कुनै समय जसपाको खेलकुद भातृ सङ्गठनका प्रमुख नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजी बहादुर श्रेष्ठ ब्याडमिन्टन भित्रको विकृतिको मुद्दा उठ्न सुरु भए पछि माओवादी प्रवेश गरेका थिए । उनी उपाध्यक्ष नरेश बहादुर सिंहले पनि अध्यक्षमा उम्मेदवारीको घोषणा गरे लगत्तै माओवादी प्रवेश गरेका हुन् । परन्तु श्रेष्ठको जीवन यापनको शैली र सोच माओवादीले उठाएको समानताको मुद्दाको ठिक विपरीत छ । श्रेष्ठको कार्यकालमा मोफसलका ब्याडमिन्टनकर्मीले बारम्बार आफू माथि भेदभावको महसुस गरेका छन् । यसै कारण श्रेष्ठ मोफसलमा तदर्थ समिति गठन गर्दा भेलाबाट नभई काठमाडौँमा बसेर आफू अनुकूल कमिटी तयार गर्ने र मोफसलमा पुगेर औपचारिकता दिन  तल्लीन छन् । उनले सकेसम्म आफू अनुकूललाई मात्र त्यस कार्यक्रममा बोलाउने गरेका छन्। यसरी गठन भएको सङ्घलाई बाँके जिल्लाले बहिस्कार गरेको छ । बाँके जिल्ला नेपाली ब्याडमिन्टनमा पायनीयर मानिन्छ । बाँके जस्तो ब्याडमिन्टनमा प्रभाव रहेको जिल्लालाई बेवास्ता गर्दै भए पनि सङ्घ नेतृत्व आफू अनुकूल जे पनि गर्न तयार रहेको छ । 

खेलाडी, प्रशिक्षक र अम्पायर काठमाडौँ केन्द्रित नेतृत्वको विरुद्धमा बारम्बार आवाज उठाउन थालेका छन् । उनको कार्यकालमा सङ्घमा अभिजात वर्गका सीमित व्यक्तिको मात्र बलियो उपस्थिति छ । 

श्रेष्ठलाई साथ दिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव पनि माओवादी पार्टीको प्रतिनिधीत्व गर्ने भए पनि लामो समय देखि खेलकुदमा लाभ लिनेहरूकै सेरोफेरोको घुमेको आरोप माओवादी निकट खेलकर्मीहरूको छ । 

यसरी श्रेष्ठको गलत गतिविधिमा साथ दिन लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई पनि लागी परेका छन् ।

प्रदेश खेलकुद विकास परिषद्को पहलमा जिल्ला भेला बोलाएर प्रदेश सङ्घ गठन गर्ने प्रावधान भए पनि सदस्य सचिव जस्तो जिम्मेवार पदमा रहेकाहरू संघले बोलाएको भेलामा उपस्थित भएर माइन्युटमा अनगिन्ती गल्तीका बाबजुद त्यसलाई बेवास्ता गर्दै हस्ताक्षर गरेका छन् । 

प्रदेश भेलाको सो माइन्युटमा बैठकको मिति लेखिएको छैन । साथै बैठकमा उपस्थित नै नभएका व्यक्ति सदस्य भएका छन् । तथापि सदस्य सचिव भट्टराईले हस्ताक्षर गरेका छन् । लुम्बिनीको सो माइन्युट नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष श्रेष्ठ फेरी पदमा रहन कत्ति आसक्त छन् र कत्ति चुक्दो रहेछन् भन्ने पुष्टि गर्न पर्याप्त बनेको छ ।

 

ऐन विपरीत गठन भएका कारण कोसी प्रदेश खेलकुद विकास समितिले कोसीको सङ्घलाई मान्यता दिएको छैन । 

Comment