ब्याडमिन्टनमा बिना छनोट अस्ट्रेलियामा हुने प्रतियोगितामा सहभागी गराउने तयारी

अक्टोबर ११ देखि अस्ट्रेलियामा आयोजना हुने योनेक्स बैन्डीगो अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजमा नेपाल ब्याडमिन्टन संघले कुनै पनि खेलाडीको छनोट नगराई सहभागी गराउने भएको छ । 

जानकारी अनुसार नेपालको तर्फबाट प्रिन्स दाहाल, विष्णु कटुवाल र प्रफुल्ल महर्जन पुरुष तर्फ र महिला तर्फ नङसल तामाङ र अनुमाया राईले सहभागिता जनाउन लागेका हुन् । पछिल्लो तीन महिना यताको छनोट प्रतियोगितालाई आधार मान्ने हो भने एसियाडका लागि भएको छनोटमा सुनिल जोशी दोस्रो, विष्णु कटुवाल तेस्रो र जीवन आचार्य चौथो भएका थिए । यसै गरी बरीयतामा नेपालमा रहेका मध्ये तेस्रो स्थानमा दीपक बोहरा छन् । सङ्घको यो निर्णयले ब्याडमिन्टन  खेलाडीको असन्तुष्टि भुसको आगो झैँ सल्किए पछि कोही पनि बोल्न सकेका छैनन् । 

सुरुमा प्रिन्स र  कटुवाललाई पठाउने तयारी गरेका कारण खेलाडी भित्र विरोधको आवाज बढ्न थाले पछि प्रफुल्लको नाम थपिएको  हो । स्मरणीय छ पछिल्लो समय भएको प्रधानमन्त्री कप ब्याडमिन्टनको फाइनलमा प्रफुल्लले प्रिन्सलाई हराएका थिए ।

 विगतका गतिविधिका कारण म्यानपावरको ट्याग लागेको ब्याडमिन्टन संघले यस पटक पनि एक जना सिनियर खेलाडीलाई भिसा लगाउनकै लागि अस्ट्रेलिया पठाउन लागेको आरोप आन्दोलनरत खेलाडीको छ । टिम मेनेजर पनि भिसा लगाउनकै लागि दुई जना पठाउन लागेको कुरा उनीहरूले बताएका छन् । 

Comment