वीरमान, सुजाता र सविन च्याम्पियन

full finale
नेपाल आर्मीका वीरमान लामा, लुम्बिनीकी सुजाता राई र आर्मीकी सविना श्रेष्ठले १८ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिताको आ–आफ्नो स्पर्धामा शनिबार स्वर्ण जितेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष खुला तौलसमूहको फाइनलमा वीरमानले आफ्नै क्लबका बद्री थापालाई पराजित गरे । आर्मीकै झनक शाही तेश्रो र लुम्बिनीका गोपीराम स्याङतान चौथो भए ।
महिला ५५ केजीमुनिको उपाधि भिडन्तमा सुजाताले लुम्बिनीकै झलकुमारी महतोलाई हराइन् । बागमतीकी सुस्मिता राई तेश्रो र धौलागिरीकी शर्मिला मगर चौथो बने ।
नेपाल क्योकुसिन कराते डो संघद्वारा आयोजित प्रतियोगिताको महिला खुलामा स्वर्ण जितेकी सविनाले फाइनलमा प्रतिद्वन्द्वी बागमतीकी निर्मला वज्राचार्यको चुनौती समाप्त पारिन् । भेरीकी सपना गन्धर्व तेश्रो र लुम्बिनीकी सपना न्यौपाने चौथो स्थानमा रहे ।
पुरुषतर्फ पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार, तेश्रोले ७ हजार ५ सय र चौथोले ३ हजार ५ सय नगद पुरस्कार हात पारे । महिलाको दुवै स्पर्धामा शीर्ष चार स्थान हात पार्ने खेलाडीले क्रमशः ६ हजार, ३ हजार, १ हजार ५ सय र ७ सय ५० का दरले नगद पुरस्कार जिते । त्यस्तै महिलाको दुवै स्पर्धामा शीर्ष चार स्थान हात पार्ने खेलाडीका लागि मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय सदस्य गणेश लामाले एक मुष्ट ३० हजार नगद पुरस्कार छुट्टै प्रायोजन गरे ।
विजेतालाई सभासद तीर्थ लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा ७० खेलाडीले ३ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

Comment