मानन्धरलाई गजराज स्मृति आदर्श खेल व्यक्तित्व पुरस्कार

kheladi1
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले दक्षिण एसियाली कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धरलाई गजराज स्मृति आदर्श खेल व्यक्तित्व पुरस्कारबाट शुक्रबार सम्मानित गरेको छ ।  खेलाडी संघले आफ्नो नियमति कार्यक्रम उत्कृष्ट वर्ष खेलाडी अवार्ड वितरण कार्यक्रम मानन्धरलाई गजराज जोशी स्मृति फाउन्डेसनको तर्फबाट नगद ३० हजारका साथै सम्मान पत्र प्रदान ग¥यो ।
उत्कृष्ट वर्ष खेलाडीअन्तर्गत खेलाडी संघले विभिन्न १९ खेलका १० पुरुष तथा ९ महिला खेलाडीलाई अवार्ड वितरण गरेको छ । फुटबलमा अनिल गुरुङ, ह्यान्डबलमा अमर श्रेष्ठ, हक्कीमा दीपेन्द्र ऐरी, लनटेनिसमा विभूति कार्की, टेबलटेनिसमा नविता श्रेष्ठ, तेक्वान्दोमा ज्ञानी चुनारा, जुडोमा सुनीता बोहरा, जिम्न्याष्टिकमा राजु राई, कबड्डीमा नवल रावल, भारोत्तोलनमा कमल अधिकारी, बुद्धिचालमा केशव श्रेष्ठ, साइक्लिङमा अजय पण्डित, आर्चरीमा प्रेमप्रसाद पुन, ब्याडमिन्टनमा रत्नजित तामाङ, बक्सिङमा सरस्वती राना मगर, करातेमा अनु अधिकारी, भलिबलमा सरस्वती चौधरी, सुटिङमा श्रेया केसी तथा एथलेटिक्समा दिलमाया कार्कीले वर्ष २०७० को उत्कृष्ट खेलाडीको अवार्ड थापे । उत्कृष्ट सबैलाई सम्मान पत्र, नगद १०–१० हजार र गिफ्ट ह्याम्पर प्रदान गरियो ।
सोही अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा विगत ३६ वर्षदेखि सुरक्षा गार्डका रुपमा सेवा गर्दै आएका रत्न महर्जनलाई पनि सम्मान गरिएको थियो । उनलाई नगद १० हजार र गिफ्ट ह्याम्पर प्रदान गरियो ।
त्यस्तै उत्कृष्ट मध्ये पुरुषमा अनिल गुरुङ र महिलमा सरस्वती चौधरीलाई चाइल्ड रिच नेपालले सद्भावना दूतका रुपमा नियुक्त गरेको छ ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, राखेप सदस्य–सचिव युवराज लामा, युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मालगायतले पुरस्कार वितरण गरे ।

Comment