आर्मीका वीरमान र दिनेश क्वाटरफाइनल

Manoj Shiama
3 April, 2015 8:18 pm

fulle
नेपाल आर्मीकाद्वय वीरमान लामा र दिनेश हमाल १८ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष खुला तौल समूहमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसंगै लुम्बिनीका गोपीराम स्याङतान, धौलागिरीका राकेश महर्जन, आर्मीका झनक शाही, नारायणीका दिनेश खड्का, बागमतीका विवेक मेहता तथा आर्मीका बद्री थापाले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
नेपाल क्योकुसिन कराते डो संघद्वारा आयोजित प्रतियोगिताको महिला ५५ केजीमुनि लुम्बिनीकी सुजाता राई, धौलागिरीकी रोमिशा थिङ, जनकपुरकी संगीता तामाङ, बागमतीकी सुमिता राई, लुम्बिनीकी झलकुमारी महतो, कोशीकी ममता गुप्ता, गण्डकीकी आरती ठाकुर तथा धौलागिरीकी सर्मिला मगर क्वाटरफाइनलमा पुगे ।
महिला खुलातर्फ आर्मीकी सविना श्रेष्ठ, लुम्बिनीकी सपना न्यौपाने र बागमतीकी निर्मला वज्राचार्यले सेमिफाइनल यात्रा तय गरे । अर्को सेमिफाइनल पुग्ने खेलाडीको टुंगो लाग्न बाँकी छ ।
प्रतियोगिताको नेपालका लागि जापानका राजदूत मासाकी ओगावाले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा ५५ पुरुष र २५ महिला गरी ७० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । पुरुषमा १ र महिलामा २ गरी तीन स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ ।
पुरुषतर्फ पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार, तेश्रोले ७हजार ५ सय र चौथोले ३ हजार ५ सय नगद पुरस्कार हातपार्ने छन् । महिलाको दुवै स्पर्धामा शीर्ष चार स्थान हात पार्ने खेलाडीले क्रमशः ६ हजार, ३ हजार, १ हजार ५ सय र ७ सय ५० का दरले नगद पुरस्कार जित्ने छन् ।