पारा ओलम्पिकको लक्ष्यमा अघि बढ्दै विवेक

पाँच वर्ष अघि ब्याडमिन्टनमा प्रवेश गरेका पोखरा महानगरपालिकाका विवेक सुबेदीका सामु थुप्रै सपना छन् । केही वर्षअघि जनप्रिय बहुमुखी क्याम्पसमा भएको अन्तर सङ्काय ब्याडमिन्टनमा पहिलो भए पछि चुलिएको उनको सपना अहिले पारा ओलम्पिक हो । 

केही शारिरिक समस्याका बाबजुद उनी अन्य खेलाडीसँग नै भिड्ने गरेका थिए । अहिले भने नयाँ बाटो तय गर्दै पारा ओलम्पिकको लक्ष्य उनले राखेका हुन् । यसै सपना देखेर उनी अहिले प्रशिक्षण गरी रहेका छन् ।  विगत ४ महिनादेखि उनी निरन्तर प्रशिक्षण लिइरहेका छन् ।

जनप्रिय क्याम्पस आडमा कृष्ण मन्दिर परिसरमा रहेको ब्याडमिन्टन कोर्टमा स्थानीय खेलाडीहरू खेल्दै गरेको देखेपछि उनको मन तानिएको थियो । ‘खेल्न एकदमै गाह्रो हुन्थ्यो । पालो नै नपाइने । अरूको खेल एकदमै राम्रो हुन्थ्यो पछि मेरो नि राम्रो हुन्छ भन्ने सोचेर खेलेँ ।’ त्यसैमा थप्छन्, ‘मैले एकदमै सुधार गरेपछि खेल्ने पालो पाएँ ।’ 

उनले भिन्न प्राविधिक क्षेत्रमा आफूलाई सुधार गरी रहेका छन् । प्रदेशस्तरीय प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडी इशन खड्का, शम्भुकुमार श्रेष्ठ र एक अर्का खेलाडीसँग खेलेको स्मरण गर्दै खेलमा आफूलाई ती खेलाडीले ठुलो हौसला प्रदान गरेको उनले सुनाए । सो छनोटलाई निकै ठुलो अवसरको रूपमा लिएको सुनाए । सुर्खेतका प्रकाश अधिकारीले दुबई अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टन २०२०मा क्वाटर फाइनलसम्मको यात्रा तय गरेका थिए । उनीजस्तै पारा ओलम्पिकसम्मको यात्रा आफ्नो लक्ष्य भएको उनले सुनाए । त्यसका लागि राज्यको साथ चाहिएको उनको भनाइ छ ।

नवौँ राष्ट्रिय खेलकुद जस्तै पारा राष्ट्रिय खेलकुदसमेत समावेश गरेमा राम्रो हुने उनको बुझाइ छ । 

हाल उनी नियमित पोखरा ब्याडमिन्टन६न क्लबमा पुनम गुरुङसँग प्रशिक्षण गरी रहेका छन् । उनी नोभेम्बरमा जापान तथा डिसेम्बरमा  दुबईमा हुने प्रतियोगितामा सहभागिताको तयारी गरेका छन् । उनी कास्की ब्याडमिन्टन सङ्घ तथा नेपाल पारा ब्याडमिन्टन एसोसिएसनले सहयोग गरेमा सहभागिताको अपेक्षा गरिएको छ । 

पारा ओलम्पिकमा सहभागी भएका पहिलो नेपाली अम्पायर उदय अर्यालले उत्प्रेरणा दिएको विवेक बताउँछन् । साथै प्रशिक्षक पुनम तथा अभिभावकको सहयोगका कारण लक्ष्यमा सफलता पाउने उनको विश्वास छ । यसैका लागि उनले नियमित र व्यवस्थित प्रशिक्षण गरेको पुरा एक वर्ष भएको छ । 

Comment