स्की सङ्घको अध्यक्षमा श्रेष्ठको निरन्तरता

काठमाडौं । नेपाल स्की सङ्घको आइतबार बसेको पाँचौँ साधारण सभाले जीवनराम श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । विजेश्वरीको वज्र होटेलमा भएको साधारण सभाले सर्वसम्मत निर्विरोध नयाँ कार्यसमिति गठन गरेको हो । सङ्घको उपाध्यक्षमा राजाबाबु श्रेष्ठ, शम्भु लामा, माधव अर्याल र रमा भट्टराई छन् ।

यस्तै महासचिव विजय श्रेष्ठ, सचिवमा वसन्त कार्की र शान्तामाया परियार कोषाध्यक्षमा जितेन्द्र श्रेष्ठ छन् । सदस्यहरूमा अर्जुन महर्जन, कृपा श्रेष्ठ, लामाकाजी शेर्पा, रुक्मती जागरी, नाम्ग्या ग्याल्जेन वाङ्दी गुरुङ, टासी ग्याल्जेन शेर्पा, वीरबहादुर रावल भोटे, ज्ञानेन्द्रकुमार श्रेष्ठ, फुन्जो लामा र भाइकृष्ण बलामी छन् ।

त्यस अवसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका श्रेष्ठले अबको दिन संघले थप कार्यक्रम गर्ने र नेपालमा स्की आयोजनाका सम्भावित नयाँ स्थानको खोजी गर्ने बताउनु भयो । त्यस अगाडि आयोजित उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङको प्रमुख अतिथिको शुभकामना व्यक्त गर्नु भयो ।

यस्तै नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले पनि शुभकामना व्यक्त गर्नु भयो । कमिटीकै उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य तथा सङ्घहरूका तर्फबाट नेपाल पौडी सङ्घका अशोक बज्राचार्यले नयाँ कार्यसमितिको सफलताको कामना गर्नु भएको थियो । परिषद्को प्रतिनिधित्व गर्दै डोल्मा लामा श्रेष्ठ कार्यक्रममा उपस्थिति हुनु हुन्थ्यो ।

सङ्घको निर्वाचन प्रक्रिया प्रमुख अधिकृत वसन्तबहादुर बस्नेतसँगै निर्वाचन अधिकृत डोल्मा लामा र ज्ञानेन्द्र श्रेष्ठले सञ्चालन गर्नु भएको थियो । संघले राष्ट्रिय खेलकुद परिषद्सँगको समन्वयमा नयाँ खेलकुद ऐन अन्तर्गत सङ्घको स्वायत्तताको मूल सिद्धान्त अनुसार नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै सङ्घका ३३ प्रतिशत महिला प्रतिनिधित्वको व्यवस्था पनि लागू गरिएको छ । 

Comment