राकेशलाई महत्त्वपूर्ण जिम्मेवारी

निलेन्द्रराज श्रेष्ठ (एनआरएस) स्पोर्टस फाउन्डेसनले इनड्राइभको सहकार्यमा धावक बन्न चाहनेहरूका लागि प्रशिक्षणको औपचारिक सुरुवात गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमिकभर्ड हलमा राखेपका  सदस्य सचिव टङ्कलाल घिसिङले शनिवार प्रशिक्षणको उद्घाटन गरे । उनले प्रशिक्षणले एथलेटिक्समा  नयाँ खेलाडी तयार हुने विश्वास व्यक्त  गरे । 

दौड संस्कृतिलाई प्रवर्द्धन गर्न र लामो दूरीका धावकलाई अन्तर्राष्ट्रिय दौड प्रतियोगितामा सहभागिता जनाउने वातावरण तयार पार्ने उद्देश्यका साथ एनआरएस स्पोर्टस फाउन्डेसनले प्रशिक्षण सञ्चालन गरेको एनआरएस स्पोर्टस फाउन्डेसनका संस्थापक तथा काठमाडौं म्याराथनका संस्थापक अध्यक्ष निलेन्द्रराज श्रेष्ठले बताए । प्रशिक्षण १२ वर्ष मुनीका बालबालिकाहरूलाई लक्षित गरी सुरुवात गरिएको हो । 

लामो समयदेखि दक्षिण एसियाली स्तरका दौड प्रतियोगितामा नेपालको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ । अझै व्यवस्थित प्रशिक्षण दिन सकेको खण्डमा भविष्यमा विश्व स्तरका खेलाडी तयार हुने सम्भावना छ । एनआरएस स्पोर्टस फाउन्डेसनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले स्थानीय प्रतिभालाई राम्रोसँग हुर्काउन वातावरण तयार पार्न सके नेपालले माथिल्लो स्तरका खेलाडी तयार हुने विश्वास व्यक्त गरे । 

दौडको प्रशिक्षणका लागि एनआरएस स्पोर्टस फाउन्डेसन र इनड्राइभबीचको सहकार्यले महत्त्वपूर्ण हुने विश्वास लिएको छ । निःशुल्क रूपमा गरिने प्रशिक्षण पहिलो चरणमा उपत्यकाका काठमाडौं, पाटन, भक्तपुर, थिमी, कीर्तिपुरमा सञ्चालन गरिनेछ । अर्को चरणमा हेटौँडा, बुटवल र पोखरामा प्रशिक्षण गरिनेछ । काठमाडौँमा विमला राना मगर,  पाटनमा विमला जोशी र धनिराम चौधरी, भक्तपुरमा मोहन कर्माचार्य, थिमीमा राधेश्याम कावा, पोखरामा सिद्धान्त अधिकारी र हेटौडामा राजाराम पोखरेलले प्रशिक्षण दिने छन् । प्रशिक्षकहरूको संयोजक राकेश बज्राचार्यले गर्ने छन् । प्रशिक्षक राकेश नेपाली एथलेटिक्समा समर्पित व्यक्ति हुन् । यसै गरी सिद्धान्त राष्ट्रिय कीर्तिमान धारी मात्र नभई अध्ययनशील व्यक्ति हुन् । 

एनआरएस स्पोर्टस फाउन्डेसन अध्यक्ष श्रेष्ठले प्रशिक्षण सञ्चालनका लागि आफूहरू उत्साहित  रहेको र  नेपालमा दौड संस्कृतिको प्रवर्धनमा सहभागी हुन पाउँदा खुसी लागेको बताए । प्रशिक्षकहरूले बालबालिकालाई दौड, इन्डुरेन्स ट्रेनिङ तथा सम्भावित चोटबाट बचाउबारे ज्ञान दिने छन् । यसले प्रशिक्षार्थीहरूमा आफ्नो सिप तिखार्न, स्टामिना बढाउन र समग्रमा प्रदर्शनमा सुधार गर्न मद्दत मिल्ने विश्वास लिएको छ । 

इनड्राइभका नरेश श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रशिक्षण कार्यक्रममा साथ रहेको र भविष्यमा पनि सहकार्य  रहने बताए । अनलाइनमार्फत १ सय भन्दा बढी बालबालिकाले प्रशिक्षणका लागि नाम दर्ता गराइसकेका छन् । 

युवा तथा सहज पहुँचबाट टाढा रहेका धावकलाई प्रवर्द्धन गर्न इनड्राइभले ३ सय धावकलाई काठमाडौं म्याराथनमा सहभागी हुन मद्दत गर्नेछ । काठमाडौं म्याराथनको १५ औँ संस्करण २०८० आश्विन २७ गते शनिवार आयोजना हुने घोषणा यसअघि नै भइसकेको छ । 

एनआरएस स्पोर्टस फाउन्डेसन प्रति एक खेलकुदको इभेन्ट म्यानेजमेन्ट कम्पनीका रूपमा रहेको छ र यसले नेपालमा खेलकुदका विभिन्न गतिविधिको आयोजना तथा व्यवस्थापन गर्दै आएको छ । यसको उद्देश्य नेपालमा खेलकुदको प्रवर्द्धन र प्रतिभाशाली खेलाडीको विकासमा टेवा पुर्‍याउनू रहेको छ ।

Comment