खेलमा उत्कृष्ट, टोलीमा प्रिय

 आधुनिक ओलम्पिक खेलकुदको इतिहासले एक शताब्दी पार गरी सकेको छ । सुरुवाती ओलम्पिकमा फेन्सिङ  खेल समावेश गरिएको थियो । त्यसै खेलले नेपालमा सक्रिय रूप लिएको एक दशकको हाराहारीमा हो ।

यस दशकको हाराहारीमा सो खेलको  नेतृत्वदायी भूमिकामा रहनेहरूको नेतृत्व क्षमता भिन्न बहसको विषय हुन सक्छ । तर, यस बिचमा केही यस्ता खेल व्यक्तित्व सोही खेलमा देखिए जसको मेहनत, परिश्रम र समर्पणको कदर सरोकार वाला निकायले गर्नै पर्छ ।

पूर्वाञ्चलमा भएको सातौँ राष्ट्रिय खेलकुद चितवनका राजेन्द्र गजुरेलको पहिलो अफिसियल प्रतियोगिता थियो । एपीएफ टिमबाट सहभागी उनले दोस्रो स्थान पाएका थिए । त्यसको दुई वर्ष पछि सन् २०१८ मा भएको राखेप च्याम्पियनसिपमा पनि उनी सहितको एपीएफ टिमले दोस्रो स्थान पाएको थियो ।

नेपालगन्जमा भएको आठौँ राष्ट्रिय खेलकुदमा राजेन्द्र सावर स्पर्धामा फाइनलमा प्रवेश गरेका थिए । उनको खेल जीवनमा त्यो एउटा फड्को नै थियो । त्यस पछि उनले विरलै पछाडि फर्केर हेर्ने गरेका छन् । सोही प्रतियोगिताको टिम स्पर्धामा पनि उनी सहितको एपीएफ टिम दोस्रो भएको थियो ।

काठमाडौँमा भएको १३ औ दक्षिण एसियाली खेलकुद भन्दा ठिक अगाडी थाइल्यान्डमा भएको सियु ओपन फेन्सिङ च्याम्पियनसिपमा उनी सहभागी थिए ।

काठमाडौँमा भएको साग खेलमा उनी सहितको नेपाली टोलीले टिम स्पर्धामा कांस्य पदक जितेको थियो ।

गत वर्ष काठमाडौँमा नै भएको वीर गणेशमान ओपन फेन्सिङ च्याम्पियनसिपमा उनी एकल स्पर्धामा तेस्रो भए । संयोग नै मान्नु पर्छ की, उनी सहितको एपीएफ टिम भने स्वर्ण जित्न सफल भयो । सायद यो उनको खेल जीवनको पहिलो स्वर्ण पदक पनि थियो । इजिप्टको कायरोमा भएको विश्व फेन्सिङ च्याम्पियनसिप सहभागिता जनाए पछि उनमा बढेको आत्मविश्वास परिणाममा समेत देखिएको थियो ।

गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदमा उनी एकल स्पर्धामा च्याम्पियन भएका थिए । उनले मस्कोमा भएको सावर च्याम्पियनसिपमा पनि सहभागिताको अवसर पाए ।

उनको खेल जीवन सामान्य नै भए पछि एक दशकमा च्याम्पियनको छवि बनाउन उनले धेरे मेहनत र सङ्घर्ष गर्नु परेको थियो ।

२०४६  सालको दोस्रो दिन बाबु छत्र प्रसाद र आमा फुल कुमारीको कोखबाट जन्मिएका गजुरेल पनि सामान्य मध्यम वर्गीय परिवारकै हुन् । अन्य आम मध्यम वर्गीय नेपालीलाई झैँ उनलाई पनि खेलकुदमा लागेर च्याम्पियनको ताज पहिरन कम्ती मेहनत त पक्कै गर्नु परेको थिएन ।

यसै कारण पनि हुन सक्छ, गजुरेल टोलीको मियो झैँ बनेका छन् । त्यसै परिश्रमले सिकेको पाठ हुन सक्छ, उनी सहृदयी र सहयोगी स्वभावका मानिन्छन् । आफू त च्याम्पियनको छवि छदै छ, टोलीका अन्य खेलाडीलाई सहयोगी भावना राख्ने आदतकै कारण उनी टोलीमा त्यत्तिकै प्रिय पनि मान्छिन् । आसन्न प्रतियोगिताहरुमा उनको खेल स्तर अझ उकासिने अपेक्षा गर्न सकिन्छ ।

Comment