नेपाली मुक्केबाज ऐतिहासिक उपलब्धिको नजिक

भारतको नयाँ दिल्लीमा जारी विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपाली महिला मुक्केबाजको सानदार प्रदर्शन कायम रहेको छ । सोमबार भएको ५२ केजी तौल समूहको खेलमा नेपालकी अञ्जनी तेली प्रतियोगिताको शीर्ष बरीयताका खेलाडी स्टर्लिङ क्याथरिन मारीलाई हराउँदै क्वार्टरफाइनलको यात्रा तय गर्न सफल भइन् । तेलीको यो उपलब्धिलाई नेपाली टोलीका प्रशिक्षक प्रकाश थापा मगरले महत्त्वपूर्ण र उपलब्धि मूलक सफलताको रूपमा व्याख्या गरेका छन् । 

‘ हामीले छोटो समयमा पनि अत्यन्त सही प्रशिक्षण गरेकाले त्यसको प्रभाव अहिले देखिएको छ । ’, थापाले भने । थापाकै विचारमा यस अघि सुस्मा तामाङ विश्व वरीयता क्रमको दोस्रो स्थानमा रहेकी खेलाडीसँग अत्यन्त प्रतिस्पर्धात्मक खेलमा हार भएको बताएका छन् ।

‘हामी सुस्मा र अञ्जनी दुवै खेलाडीबाट उज्ज्वल भविष्यको सम्भावना देख्न सक्छौ , ’ प्रकाशले थप बताए । अञ्जनीले बुधवार उज्वेकिस्ताकी काजारोजा पेरुभा र बुल्गेरियाकी अपनोभिच यालोभा बिचको विजेतासँग खेल्ने छिन् । क्वार्टरफाइनलमा जित हात पारे सो जित सम्भवतः नेपाली खेलकुदकै सबै भन्दा महत्त्वपूर्ण उपलब्धि हुने छ ।

यस अघि नेपाली खेलकुदको सबै भन्दा ठुलो सफलता सन् १९९७ मा सगीँना वैद्यले जितेको तेक्वान्दोको एसियाली च्याम्पियनसिपको स्वर्ण पदक थियो । बक्सिङकै हकमा सन् २००९ मा नेपालले एसियाली महिला बक्सिङ च्याम्पियनसिपमा पाएको पदक महत्त्वपूर्ण पदक सफलता थियो । त्यस भन्दा अघि एसियाली खेलकुदमा नेपालले जितेको कांस्य पदक महत्त्वपूर्ण उपलब्धि थियो ।

सन् १९८६ को एसियाली खेलकुदमा  दल बहादुर राना मगर, सुशील पोखरेल, तुल बहादुर, थापा र मनोज श्रेष्ठले कांस्य पदक जितेका थिए । सन् १९९० को एसियाली खेलकुदमा चित्र बहादुर गुरुङ कांस्य पदक जित्न सफल भए । सन् २०१० मा नेपालका दीपक महर्जनले कांस्य पदक जितेका थिए । दीपक अहिले टोलीको प्रशिक्षक छन् । यस प्रतियोगितामा सफलता पाए प्रकाश र दीपक नेपाली खेलकुदमा  खेलाडी र प्रशिक्षक दुवै भूमिकामा उत्तिकै सफल हुने व्यक्तित्वको रूपमा रहने छन् ।

काठमाडौँमा भएको आठौँ दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक जितेका प्रकाशको प्रशिक्षणमा नेपालले सन् २०१९ मा भएको १३ औ दक्षिण एसियाली खेलकुदमा ३ स्वर्ण पदक जितेको थियो ।

टोली प्रशिक्षक थापा यस लामो समयको अन्तरालमा तेली र सुस्माको प्रदर्शन सबै नेपालीका लागि गर्वको विषय भएको प्रतिक्रिया दिएका छन् । उनले आसन्न दिनमा सही प्रशिक्षण र निश्चित योजना भएमा नेपाली बक्सिङ विश्व स्तरीय खेलाडीसँग मुकाबिला गर्न लायक भएको दाबी गरेका छन् ।

दिल्लीमा रहको बक्सिङ प्रशिक्षक तथा तालिम तथा प्रशिक्षक विभागका निर्देशक प्रचण्ड शर्मा पनि नेपाली खेलकुदको सबै भन्दा महत्त्वपूर्ण सफलताको नजिक पुगेको बताउँछन् । 

Comment