क्लिन एन्ड जर्कमा दिनेशको राष्ट्रिय कीर्तिमान

wl shyam daiनेपाल आर्मीका दिनेश श्रेष्ठले चौथो ग्रान्डप्रिक्स क्लालिफाइङ राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको सिनियर पुरुषतर्फ ९४ केजीको क्लिन एन्ड जर्कमा सोमबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
दिनेशले क्लिन एन्ड जर्कमा १ सय ४६ केजी भार उचाल्दै ज्ञानबहादुर श्रेष्ठको नाममा रहेको १ सय ४५ केजीको कीर्तिमान भंग गरी नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरे । ज्ञानबहादुरले २०६६ सालमा काठमाडौंमा भएको ११ औं दक्षिण एसियाली खेलकुदको छनोटमा कीर्तिमान बनाएका थिए । दिनेशले स्न्याचमा ११० सहित कुल २५६ केजी भार वहन गर्दै स्वर्ण जिते । आर्मीकै टहलसिंह बस्याल दोश्रो भए ।
अघिल्लो दिन नेपाल प्रहरीकी तारादेवी पुनले आफ्नै नाममा रहेको तीन राष्ट्रिय कीर्तिमान स्न्याच, क्लिन एन्ड जर्क र कुलमा सुधार गरेकी थिइन् ।
जुनियर पुरुषको९४ केजीमा बाराका मोहम्मद आसिक हुसेन पहिलो भए । उनले स्न्याचमा ७२ र क्लिन एन्ड जर्कमा ९० गरी कुल १ सय ६२ केजी भार वहन गरे । कञ्चनपुरका सागर भण्डारी दोश्रो भए ।
सातदोबाटोस्थित नेपाल खेलकुद विज्ञान प्रतिष्ठान परिसरमा भएको सिनियर पुरुष १०५ केजीमा आर्मीका गगनसिंह वली पहिलो भए । उनले स्न्याचमा १०८ केजी र क्लिन एन्ड जर्कमा १३५ गरी कुल २४३ केजी वजन उठाए । प्रहरीका गगन चन्द दोश्रो भए ।
सोही तौलसमूहको जुनियर पुरुषमा काठमाडौंका राजिव महर्जन पहिलो भए । उनले स्न्याचमा ७२ र क्लिन एन्ड जर्कमा ८७ गरी कुल १५९ केजी वजन उचाले ।
सिनियर पुरुषको १०५ केजीमाथि आर्मीका पुकार गुरुङले स्न्याचमा १०५ र क्लिन एन्ड जर्कमा १२० गरी कुल २२५ केजी भार उठाउदै शीर्ष स्थान कब्जा गरे । सोही स्पर्धाको जुनियर पुरुषमा चितवनका सन्देश गुरुङले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ९२ गरी कुल १५२ केजी भार उचाले ।
नेपाल भारोत्तोलन संघद्वारा आयोजित सिनियर पुरुषको ६९ केजीमा आर्मीका कमलबहादुर अधिकारी पहिलो स्थानमा रहे । उनले स्न्याचमा ११० र क्लिन एन्ड जर्कमा १४५ गरी कुल २५५ केजी भार उचाले । त्यसै वजन समूहको जुनियर पुरुषमा धनुषाका अशोककुमार यादव पहिलो भए । उनले स्न्याचमा ६७ र क्लिन एन्ड जर्कमा ८५ गरी जम्मा १५२ केजी भार वहन गरे ।
सिनियर पुरुषको ७७ केजीमा प्रहरीका लिक्की थापाले स्न्याचमा ९५ र क्लिन एन्ड जर्कमा ११५ गरी कुल २१०केजी भार उठाउदै स्वर्ण चुमे । त्यसै स्पर्धाको जुनियर पुरुषमा कञ्चनपुरका विशालसिंह विष्ट पहिलो भए । उनले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ८० गरी जम्मा १४० केजी वजन उचाले ।
सिनियर पुरुषको ८५ केजीमा आर्मीका भैरवसिंह थापा पहिलो बने । उनले स्न्याचमा ९५ र क्लिन एन्ड जर्कमा १२७ गरी कुल २२२ केजी वजन उचालेका थिए ।उक्त स्पर्धाको जुनियर पुरुषमा कञ्चनपुरका निकेश खाती पहिलो भए । उनले स्न्याचमा ७० र क्लिन एन्ड जर्कमा ९२ गरी कुल १६२ केजी भार उठाए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुरेन्द्रबहादुर हमाल लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुई दिने प्रतियोगितामा ५४ पुरुष र १६ महिला गरी जम्मा ७० खेलाडी सहभागी थिए ।
प्रतियोगिता साउन ६ देखि १५ गतेसम्म लगनखेलमा हुने सिनियर पुरुष तथा महिला एसियाली भारोत्तोलन प्रतियोगितामा सहभागी हुने खेलाडीको प्रारम्भिक छनोटका रुपमा समेत रहेको आयोजकले जनाएको छ ।राष्ट्रिय टिमको छनोट समेत यसै प्रतियोगितालाई आधार मानिने जनाइएको छ ।

Comment