ताराद्वारा तीन नयाँ राष्ट्रिय कीर्तिमान सुधार

wl
नेपाल प्रहरीकी तारादेवी पुनले चौथो ग्रान्डप्रिक्स क्लालिफाइङ राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको सिनियर महिलातर्फ ७५ केजीमाथि आइतबार तीन नयाँ राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी छन् ।
सातदोबाटोस्थित नेपाल खेलकुद विज्ञान प्रतिष्ठान परिसरमा ताराले स्न्याचमा ६८ केजी र क्लिन एन्ड जर्कमा९४ केजी गरी कुल १ सय ६२ केजीभार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी हुन् ।ताराको नाममा स्न्याचमा ६७, क्लिन एन्ड जर्कमा ९३ र कुलमा १ सय ६० केजीको कीर्तिमान थियो । उक्त कीर्तिमान ताराले दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदमा बनाएकी थिइन् ।
सिनियर महिलाकै ४८ केजीमा नेपाल आर्मीकी मनीषा रानाभाट (स्न्याच ४५ र क्लिनएन्डजर्कमा ५२ गरी कूल ९७ केजी), ५३ केजीमा प्रहरीकी देवीकुमारी चौधरी (स्न्याच ५५ र क्लिन एन्ड जर्कमा ६६ गरी कूल १२१ केजी) र  ५८ केजीमा प्रहरीकी जुनुमाया छन्त्याल (स्न्याच ४५ र क्लिन एन्ड जर्कमा ५५ गरी कूल १०० केजी) ले स्वर्ण जिते । यसैगरी, ६३ केजीमा आर्मीकी मनीषा श्रेष्ठ (स्न्याच ५० र क्लिन एन्ड जर्कमा ६२ गरी कूल ११२ केजी), ६९ केजीमा सप्तरीकी शान्ति चौधरी (स्न्याच ५० र क्लिन एन्ड जर्कमा ७० गरी कूल १२० केजी) तथा ७५ केजीमा प्रहरीकी लक्ष्मीवन (स्न्याच ५७ र क्लिनएन्डजर्कमा ६५ गरी कूल १२२ केजी) ले स्वर्ण जिते ।
सिनियर पुरुषको ६२ केजीमा प्रहरीका विकास थापा पहिलो भए । उनले स्न्याचमा १ सय ५ र क्लिन एन्डजर्कमा १ सय २० केजी गरी कूल २ सय २५ केजीभार उचाले । सिनियर पुरुषकै ५६ केजीतर्फ स्न्याचमा७७ केजी र क्लिनजर्कमा ९६ केजी गरी जम्मा १ सय ७३ केजी वजन उठाएका आर्मीका तुलाराम महतो पहिलो स्थानमा रहे ।
जुनियर पुरुषको ५२ केजीमा सप्तरीका रामकुमार यादवले स्वर्ण हात पारे । उनले स्न्याचमा ५७ केजी र क्लिन एन्ड जर्कमा ७२ केजी गरी जम्मा १ सय २९ केजी वजन उचाले ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले एक कार्यक्रमबीच उद्घाटन गरे । सिनियरको पुरुषमा ८ र महिलामा ७ तथा जुनियर पुरुषमा ९ गरी जम्मा २४ स्वर्णकालागि प्रतिस्पर्धा भइरहेको छ । ५४ पुरुष र १६ महिला गरी जम्मा ७० खेलाडी सहभागी छन् ।
प्रतियोगिता साउन ६ देखि १५ गतेसम्म लगनखेलमा हुने सिनियर पुरुष तथा महिला एसियाली भारोत्तोलन प्रतियोगितामा सहभागी हुने खेलाडीको प्रारम्भिक छनोटका रुपमा समेत रहेको आयोजक नेपाल भारोत्तोलन संघले जनाएको छ । संघका अनुसार यसै प्रतियोगिताबाट राष्ट्रिय टिमको छनोट समेत गरिने छ । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

Comment