समस्याको चाङका बीच अध्यक्ष श्रेष्ठको मनपरीले सुटिङ खेलाडीको भविष्य अन्धकारतर्फ 


सुटिङ खेलमा भएको बेतिथिको आवाज उठाउँदै खेलाडी हरि थापा

नेपाल सुटिङमा विविध समस्या आइ सके पछि यससँग सरोकार राख्नेहरूको मतमा यसमा आमूल सुधार र परिवर्तन आवश्यक भएको ठहर गरेका छन् । अहिले नेपाली सुटिङ दुई ध्रुवमा विभाजित छ । अध्यक्ष पुष्पदास श्रेष्ठ नेतृत्व निकट एकाध व्यक्ति बाहेक आम सुटिङ परिवार नै नेतृत्व प्रति आक्रामक बनेको छ ।

नेपाल सुटिङ सङ्घको व्यवस्थित कार्यालय समेत छैन । सातदोबाटो स्थित सुटिङ रेन्जसँगै सङ्घको कोठा भए पनि सबै काम अध्यक्ष श्रेष्ठको निजी निवासबाट हुने गरेको छ । सङ्घको कार्यालय सातदोबाटो दर्ता भए पनि मेल आइडी र पोस्ट बक्स नम्बर दुवै श्रेष्ठको निजी कार्यालय र निवास नै राखिएको छ । सङ्घका केही व्यक्तिले दिएको जानकारी अनुसार बैठक पनि त्यहीँ हुने गरेको छ ।
अध्यक्ष श्रेष्ठको ग्लोबल असिस्टेन्टको इमेल प्रयोग गरिएको छ । पोस्ट बक्स र सम्पर्क नम्बर समेत पुष्पदासको राखिनु आश्चर्य चकित भएको महासचिव त्रिलोचन श्रेष्ठ बताउँछन् । सातदोबाटोमा सङ्घकै नाममा टेलिफोन रहे पनि सुचारु गरिएको छैन ।
अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय निकायमा महासचिवको पनि सम्पर्क माध्यम तयार गर्नबाट अनेक प्रपञ्च गरेर रोकेका छन् । फोटो र विवरण बुझाउनु पर्ने निकायमा समेत त्यसलाई गुपचुप राख्दै अध्यक्ष श्रेष्ठले मनोमानीको बाटो खुला गरेका छन् ।
कत्तिसम्म हेलचेक्र्याइँ गरिएको छ भने नेपाल ओलम्पिक कमिटीमा बुझाइएको नामावलीमा अपडेट नगरेर १२ वर्ष पुरानो महासचिवको नाम अझै राखिएको छ ।
सुटिङमा सबैभन्दा आश्चर्य चकित पर्ने विषय चाही आर्थिक पारदर्शिता नै हो । अन्तर्राष्ट्रिय महासङ्घले सबै राष्ट्रिय सङ्घलाई सहयोग प्रदान गर्ने प्रावधान भए पनि नेपाली सुटिङले त्यो पाएको छैन । अध्यक्षको मात्र व्यक्तिगत सम्पर्क हुने भएका कारण कतै  राष्ट्रिय सङ्घलाई आएको सुविधा नै अध्यक्षले व्यक्तिगत रूपमा प्रयोग गरेको त होइन भन्ने आशङ्का धेरैलाई छ ।
सङ्घको आर्थिक कारोबारमा कोशाध्यक्षलाई बे वास्ता गरिएको गुनासो छ । कोशाध्यक्षको अनिवार्य हस्ताक्षर आवश्यक भए पनि त्यसो नगरिएको सङ्घ कोशाध्यक्ष सतिस श्रेष्ठ बताउँछन् ।
राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता बाहेक अन्य कुनै पनि प्रतियोगिता आयोजना गर्न सुटिङ सङ्घ असमर्थ छ । नियमित प्रशिक्षण हुँदैन ।
प्रतियोगितामा सहभागिता गराउँदा वैज्ञानिक र पारदर्शी छनोटलाई बेवास्ता गर्दै मनपरी गरेको गुनासो छ । सम्बन्धित प्रशिक्षकलाई समेत बेवास्ता गरिएको गुनासो सुटिङ सङ्घमा देखिन थालेको छ ।
नेपाल सुटिङ सङ्घको कार्यकाल सकिए पनि साधारण सभाको कुनै चासो देखाइएको छैन । हाल जिल्ला खेलकुद विकास समिति लगायत निकायलाई बे वास्ता गर्दै जिल्ला तहमा समेत मनपरी गरिएको गुनासो सुटिङ खेलमा आबद्ध धेरैको छ । काठमाडौँ उपत्यका बाहिर खेलाडीलाई बेवास्ता गरिएको आरोप सर्वत्र लाग्ने गरेको छ ।
Comment