लमजुङ गोजुकाईमा थपिएको उत्साह

मुख्य प्रशिक्षक अस्मिता गुरुङको उपस्थितिमा लमजुङमा जेकेएफ गोजुकाई केन्बुकान कराँतेको बेल्ट टेस्ट तथा प्रशिक्षण भएको छ । मुख्य प्रशिक्षकको उपस्थितिले उत्साहित लमजुङका कराँते खेलाडीले आफूले नयाँ ज्ञान पाएको धारणा व्यक्त गरेका छन् ।
दुई दिने कार्यक्रममा बेल्ट टेस्टका साथै प्रशिक्षण शिविर पनि सम्पन्न भएको हो । प्रशिक्षण शिविरमा महत्त्वपूर्ण प्राविधिक ज्ञान खेलाडीले पाएका थिए ।
शनिवार बेशीसहर नगरपालिकाकी उप प्रमुख पद्मा गुरुङको प्रमुख आतिथ्यमा भएको भएको बेल्ट टेस्टमा वडा –८ की अध्यक्ष पवित्रा राना मगर विशेष अतिथिको रूपमा उपस्थित थिइन् । यसै गरी कार्यक्रममा डोरी तान सङ्घका मुख्य प्रशिक्षक सूर्य भट्टराईको पनि उपस्थिति थियो ।
बेल्ट टेस्टमा १ सय ५० खेलाडीको सहभागिता थियो । ६ जनाले कालो पेटी पाएका छन् । कार्यक्रममा काताका पूर्व राष्ट्रिय खेलाडी समेत रहेका सुवास कार्कीले प्रदर्शन गरेका थिए ।
सोही अवसरमा युनिटी कराँते डोजो, भोटे ओडार तथा  बेशीसहरका  कराँते खेलाडीहरूले आफ्नो कला प्रस्तुत गरेका थिए ।
आइतबार भने विशेष प्रशिक्षण कार्यक्रम भएको हो । कार्यक्रम सञ्चालनमा बेशीसहर कराँते सङ्घका अध्यक्ष रवि घर्ती मगरको विशेष भूमिका रहेको लमजुङकी प्रमुख प्रशिक्षक राधा तामाङले जानकारी दिइन् ।
Comment