रग्बी सङ्घको अध्यक्षमा देवकोटा निर्विरोध

  नेपाल रग्बी सङ्घको अध्यक्षमा दीपक देवकोटा निर्विरोध चयन भएका छन् ।
शुक्रवार सम्पन्न सङ्घको १०औँ चुनावी साधारण सभाले देवकोटाको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । यसअघि देवकोटा सङ्घका कार्यवाहक अध्यक्ष थिए । तत्कालीन अध्यक्ष टङ्कलाल घिसिङ राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा नियुक्त भएसँगै तत्कालीन उपाध्यक्ष देवकोटाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका थिए ।
साधारण सभाले वरिष्ठ उपाध्यक्षमा चेतनराज गिरी, महासचिवमा गोविन्द घिमिरे, सचिवमा विजय मोक्तान लामा र कोशाध्यक्षमा जे बि दीपक अधिकारीलाई निर्विरोध चयन गरेको हो ।  । त्यस्तै कामना गिरी, एलिसा थापा, रमेश प्रसाद भट्टराई,रविन केसी, हरिशंकर महतो र इन्द्रबहादुर तामाङ  सदस्यमा चयन भए ।
नीरज र विशाखा रग्बी वर्ष खेलाडी

नेपाल रग्बी संघले पुरुषमा नीरज कार्की र महिलामा विशाखा राईलाई वर्ष उत्कृष्ट खेलाडीको अवार्डबाट शुक्रवार पुरस्कृत गरेको छ । सङ्घको १० औँ साधारण सभामा उनीहरूलाई पुरस्कृत गरिएको हो ।

सोही अवसरमा उत्कृष्ट रेफ्रीमा प्रेम कोइराला, उत्कृष्ट प्रशिक्षकमा कृष्ण थापा (यु–१८) र उदीयमान खेलाडीमा गणेश बानियाँ सम्मानित भए । गोपाल क्षेत्रीलाई लाइफ टाइम अचिभ्मेन्ट अवार्ड प्रदान गरियो ।
सोही अवसरमा नागरिक दैनिकका खेल पत्रकार अनिल मल्ल ठकुरी पनि सम्मानित भए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ, रग्बी सङ्घका कार्यवाहक अध्यक्ष दीपक देवकोटालगायतले पुरस्कृत गरे ।
Comment