हाप्किडोको अन्तर्राष्ट्रिय सेमिनार 

४ र ५ फेब्रुअरीमा काठमाडौँमा दोस्रो अन्तर्राष्ट्रिय हाप्किडो सेमिनार आयोजना हुने भएको छ ।  नेपाल हाप्किडो सङ्घको वार्षिक कार्यक्रम रहे पनि बिचको दुई वर्ष कोरोना महामारीका कारण सम्भव भएको थिएन । सन् २०२० को जनवरीमा पोखरामा भएको पहिलो सेमिनारमा २० देशको सहभागिता थियो ।
अन्तर्राष्ट्रिय सेमिनारमा प्रशिक्षण दिनका लागि ग्लोबल हाप्किडो महासङ्घका अध्यक्ष ग्रान्डमास्टर हिक्वान ली, अन्तर्राष्ट्रिय हाप्किडो महासङ्घका अध्यक्ष ग्रान्डमास्टर गेरहार्ड अग्रिन्ज, मेक्सिकन हाप्किडो फेडेरेसनका अध्यक्ष ग्रान्डमास्टर एड्रियन गेरार्डो गार्सिया टोरेस, रसियन हाप्किडो महासङ्घका अध्यक्ष ग्रान्डमास्टर डेमिड मोमोट र हाप्किडो सिनियर मास्टर तथा दक्षिण एसियाली हाप्किडो महासङ्घका अध्यक्ष काली बहादुर घर्ती मगर लगायतले सो सेमिनारमा प्रशिक्षण दिने छन् ।
कार्यक्रमले हाप्किडो खेलको विकासमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ । प्राविधिक जनशक्ति उत्पादन र ती जनशक्ति मार्फत नेपालको ग्रामीण क्षेत्रमा हाप्किडो खेललाई फैलाउने लक्ष्य रहेको छ । साथै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान बढाउन पनि यो सेमिनार सफल हुने अपेक्षा गरिएको नेपाल हाप्किडो सङ्घको उपाध्यक्ष तथा मुख्य प्रशिक्षक सुस्मिता गुरुङले बताइन् ।
Comment