इनास अपी स्पोर्ट्स जुनियर ब्याडमिन्टन हुने


नेपालका लागि खेल सामाग्री उत्पादक संस्था योनेक्सको आधिकारिक विक्रेता इनास इन्टरप्राइजेजको सहयोग र अपी स्पोर्टस् ब्याडमिन्टन एकेडेमीको आयोजनामा यसै साता इनास अपी स्पोर्टस् जुनियर ब्याडमिन्टन च्याम्पियनसिप हुने भएको छ ।
योनेक्स सनराईज इनासको मुख्य प्रायोजन रहेको च्याम्पियनसिपमा यु– १५, यु– १३ र यु– ११ छात्र तथा छात्रा गरी ६ विधामा प्रतिस्पर्धा गराइने इनासका प्रोप्राइटर राजु बास्तोलाले जानकारी गराए । लामो समयदेखि ब्याडमिन्टन प्रतियोगितामा योनेक्स सनराईज मार्फत प्रायोजन तथा खेलाडीहरूलाई सहयोग गर्दै आएको इनासले ब्याडमिन्टन खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने जुनियर प्रतियोगितालाई महत्त्वमा राख्दै च्याम्पियनसिप आयोजना गर्न लागिएको जानकारी गराए ।
नेपाल ब्याडमिन्टन सङ्घको प्राविधिक सहयोग तथा एनआरइएसको सह–प्रायोजन रहेको च्याम्पियनसिप पौष २८ देखि ३० गते सम्म बशुन्धरास्थित जेष्ट ब्याडमिन्टन एकेडेमीको कभर्ड हलमा आयोजना हुने छ । च्याम्पियनसिपमा करिब १५० खेलाडीहरूको सहभागिता रहने आयोजक अपिका अध्यक्ष कमलेश निरौलाले बताए ।
च्याम्पियनसिपमा विजयी हुने खेलाडीहरूले मेडल, ट्रफी प्रमाणपत्रका साथ यु– १५ तर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार प्राप्त गर्ने छन् । क्वार्टरफाइनल प्रवेश गर्नेले २ हजार ५ सय र प्रि क्वार्टरफाइनल प्रवेश गर्नेले १ हजार ५ सय प्राप्त गर्ने छन् । यस्तै यु– १३ तर्फ प्रथमले ७ हजार, द्वितीयले ५ हजार, तृतीयले ३ हजार, क्वार्टरफाइनल प्रवेश गर्नेले  २ हजार र क्वार्टरफाइनल प्रवेश गर्नेले १ हजार २ सय प्राप्त गर्ने छन् । यु–११ तर्फ प्रथमले ४ हजार, द्वितीयले २ हजार, तृतीयले २ हजार, क्वाटरफाईनलिष्टले १ हजार ५ सय र प्रि क्वार्टरफाइनल प्रवेश गर्नेले  १ हजार नगद प्राप्त गर्ने आयोजकले जानकारी गराएका छन् ।

Comment