अन्तर्राष्ट्रिय निकायले साथ दिने महासङ्घको विश्वास

नेपाल तेक्वान्दो महासङ्घका अध्यक्ष प्रदीप जोशीले नेपाली तेक्वान्दोको विवाद समाधानका लागि चालिएको कदमलाई विश्व तेक्वान्दोले स्वीकार गर्ने बताएका छन् ।
महासङ्घको गठन पछि यसको औचित्य र कार्यक्रमका बारे जानकारी दिन शुक्रवार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा जोशीले सो कुरा बताएका हुन् ।
पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासङ्घका महासचिव इन्द्रमान तुलाधरले वर्तमान विवादको निकास अहिलेको महासङ्घ भन्दा अर्को हुन नसक्ने जिकिर गरे ।
राष्ट्रिय खेलकुद परिषद्ले १३ करोड रुपैयाँ खर्च गरेर निर्माण गरिएको सातदोबाटो स्थित तेक्वान्दो एकेडेमीको भ्रमण आफूहरूले २५ करोड रुपैयाँको लातमा निर्माण गरेको भन्दै भ्रम सृजना गरेको आरोप पनि महासचिव तुलाधरको थियो ।
लामो समय देखि राष्ट्रिय तेक्वान्दो सङ्घ र नेपाल तेक्वान्दो सङ्घ गरी एउटै प्रकृतिका दुई खेल सङ्घहरू अस्तित्वमा थिए । यसै परिप्रेक्ष्यमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाको अध्यक्षता गठित खेल सङ्घ विवाद समाधान समितिले दुवै तर्फका प्रतिनिधिलाई बारम्बार वार्तामा बोलाएको थियो ।  लामो समय देखि विवादमा रहेको तेक्वान्दो विवाद समाधानको क्रममा राष्ट्रिय खेलकुद परिषद्ले ५ पुसमा राष्ट्रिय तेक्वान्दो सङ्घ र नेपाल तेक्वान्दो सङ्घको दर्ता खारेज गर्दै प्रदीप जोशीको अध्यक्षतामा नेपाल तेक्वान्दो महासङ्घ गठन गरेको हो ।
 शुक्रवारको पत्रकार भेटघाट कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का पूर्व तालीम तथा प्रशिक्षण विभाग प्रमुख एवं वरिष्ठ तेक्वान्दो प्रशिक्षक तथा महासङ्घका उपाध्यक्ष अर्जुन विक र तेक्वान्दो मुख्य प्रशिक्षक नवीन कुमार श्रेष्ठले पनि धारणा राखेका थिए ।
कार्यक्रममा उपस्थित प्राय सबैले विवाद समाधान समितिले वार्ताको क्रममा बोलाउँदा पनि तेक्वान्दो सङ्घको नेतृत्वले चासो नदिएको कुरा उल्लेख गरे ।
१३ औ दक्षिण एसियाली खेलकुदमा अभूतपूर्व सफलता दिलाउने प्रशिक्षण टोलीलाई नै त्यस पछि काममा बाधा र अवरोध सृजना गरेको  तथा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर समेत नपाए पछि नेपालका १ दर्जन खेलाडी यस बिचमा बिदेसिएको तथा राष्ट्रिय टोलीको प्रशिक्षण तेक्वान्दो सङ्घकै कारण बिथोलिएको आरोप पनि धेरैका थियो ।
सबै तहका ग्रेडिङमा केन्द्रीकृत गरिएका कारण डोजाङ प्रमुख रहेका  प्रशिक्षकले लामो समय देखि अप्ठेरोको महसुस गरेको तथा छनोट भएर ओलम्पिक खेल्न सफल भए बापत  सम्मान स्वरूप दिइएको भत्तामा समेत कटौती  गर्दै संघले खेलाडी र प्रशिक्षकको आत्मसम्मानमा चाट लगाएको  पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
महासङ्घको पहिलो बैठकले ती दुवै खेलाडीलाई भत्ता उपलब्ध गराउने, रातो पेटीसम्मको ग्रेडिङको अधिकार सम्बन्धित प्रशिक्षकलाई नै दिने तथा अहिले स्वास्थ्योपचार गराइरहेका प्रशिक्षक शेर बहादुर सिंहको उपचारमा सहयोग गर्ने तथा आर्थिक श्रोत जुटाउन पहल गर्ने निर्णय गरी सकेको छ ।
Comment